Chauthoanga - Nepali News Media
धान रोप्न किसानलाई अझै मलको चिन्ता

तुलसीपुर । शनिवार देशभर धुमधामका साथ राष्ट्रिय धान दिवस मनाइयो । धानको उत्पादनमा वृद्धि, आधुनिकीकरण र व्यवसायीकरणलाई प्रवद्र्धन गर्ने हेतुले २०६१ सालदेखि प्रत्येक वर्ष असार १५ लाई राष्ट्रिय धान दिवसको रूपमा मनाउन थालिएको छ । हरेक वर्ष भिन्न नयाँ नाराका साथ राष्ट्रिय धान दिवस मनाउने गरिन्छ । यसवर्ष ‘जलवायु मैत्री कृषि, धान उत्पादनमा वृद्धि’ भन्ने राष्ट्रिय नाराका साथ राष्ट्रिय धान दिवस मनाएर तीनै तहका सरकार तथा सरोकारवाला निकायहरुले औपचारिकता निभाए तर रोपो तयार गर्दासम्म मल नपाएर भौतारिएका किसानलाई मल उपलब्ध गराउनेतर्फ भने कुनै पनि निकायले गम्भीरता देखाएका छैनन् ।

किसानले मुरी उब्जाउन मानो रोप्ने समय हो यो । यसवर्ष ढिला वर्षा हुँदा आधा सकिने बेला बल्ल रोपाईं शुरु भएको छ । यतिबेला किसानहरु खेतमा हुनुपर्ने हो तर तुलसीपुर–६ गौलौराका किसानहरु मलको अभाव हुँदा खेतमा पस्ने वातावरण नभएको बताउँछन् । स्थानीय अम्मबरबहादुर बुढाथोकीले भन्नुभयो– ‘हामीलाई मल दिने तुलसीपुर–६ को त्रिसिद्धेश्वरी सहकारीले हो तर हामीलाई मल उपलब्ध गराउन सकेन । खेतमा पस्नुपर्ने बेलामा मल उपलब्ध गराइदेउ भन्दै सहकारी, कृषि सामग्रीको कार्यालय र पालिकाको कृषि शाखामा धाइरहेका छौं ।’ तुलसीपुर–६ मा सबैभन्दा बढी खेती हुने जमिन भएको गोलौरामा हो । असार ११ गते त्रिसिद्धेश्वरी सहकारीमा आएको १ सय ३१ बोरा मलमध्ये गोलौराका ४ जना किसानलाई २ बोरा मल मात्रै उपलब्ध गराइयो । २१ बिगाहभन्दा बढी जमिनमा धान रोप्नुपर्ने छ, प्राथमिकतामा राख्नुपर्ने ठाउँलाई २ बोरा मल उपलब्ध गराएर अरु मल कहाँ पठाइयो ? बुढाथोकीले प्रश्न गर्नुभयो ।

‘यही गतिमा मल उपलब्ध गराउने हो भने किसानले कहिलेसम्म रोपाईं गरिसक्ने हो ? मत वितरण पारदर्शी भएको छैन । असार ११ गते आएको १ सय ३१ बोरा मलमध्ये ९० बोरा मात्रै किसानलाई वितरण गरियो, अरु मल कहाँ गयो ?– उहाँले भन्नुभयो– ‘यो वर्षमा २ हजार बोराभन्दा बढी मल आएको छ, हाम्रो वडामा । यो परिमाणको मल हाम्रो वडामा खेती हुने जमिनको तुलना गर्ने हो भने यति धेरै हाहाकारको अवस्था नआउनुपर्ने हो । मल कहाँ गइरहेको छ, खोज्नुपर्ने अवस्था छ ।’ गोलौराकै बसन्त केसीको पनि डेढ विगाह खेतमा रोपाईं गर्नुपर्नेछ । ब्याड तयार भइसकको छ तर मल उपलब्ध नहुँदा उहाँ पनि रोपार्इंको तयारी गर्ने अवस्थामा हुनुहुन्न । मल खोज्न सहकारी धाउँदा समय बितिरहेको उहाँले सुनाउनुभयो । ‘रोपाईं गर्नुपर्ने छ डेढ विगाह, विगतमा करिब ३ बोरा मल हाल्दै आएका छौं तर सहकारीले मल दिन्छन् आधा बोरा ! समय समयमा सहकारीमा मल पनि आइरहेकै छ । त्यो मल जान्छ कहाँ ?’– उहाँले भन्नुभयो– ‘यदि त्यो मल ६ नं. वडाकै नागरिकहरुले लगेको भए अहिले यो भीडभाड नहुनुपर्ने । कुनै नागरिकले मल नलगेको भए, त्यो मल स्टक हुनुपर्ने । यो विषयमा उपमहानगरपालिकाबाट समिति बनाएर छानविन गर्नुपर्ने आवश्यकता छ । होइन भने नागरिकले मलकै कारण सधै दुःख पाइरहने अवस्था छ ।’

किसानलाई वितरण गर्ने भनेर आएको मल वडा कार्यालयको नाममा पनि कोटा छुट्याउनुपर्ने अवस्था रहेछ । किसान अम्मरबहादुर बुढाथोकीले बताउनुभयो । ‘दिनभर लाइन लागेको किसानलाई आधा बोरा मल दिने अनि सरकारले किसानलाई उपलब्ध गराएको मलमा स्थानीय सरकारलाई कोटाका नाममा सहकारीले बोराका बोरा मल छुट्याइदिने ? वडा कार्यालयले त्यो मल के गर्छ ? वडा कार्यालयका नाममा छुट्याइएको मल कस्ले लैजान्छ ? त्यो कुरा पनि स्पष्ट खुलाइनुपर्छ’– उहाँले भन्नुभयो– ‘हरेक पटक मल आउँदा वडा कार्यालयको नाममा छुट्याइन्छ । सहकारीले मल वितरण गरेको तथ्यांक माग गर्दा अध्यक्ष लिलाधर डाँगी र सञ्चालक समितिका एक सदस्यले यो हाम्रो व्यवसाय हो तथ्यांक दिन्नौं, जे गर्ने हो गर्नुस् भन्ने जवाफ दिनुभयो । म यो क्षेत्रका किसानले मल पाउनुप¥यो भनेर लागेको छु तर सञ्चालक समितिले तपाईंलाई चाहिएको लैजानुस्, विरोध नगर्नुस् भनेर सन्ताउने कोशिस गरिरहेका छन् ।’

त्रिसिद्धेश्वरी कृषि सहकारीका व्यवस्थापक धर्मराज वलीले वडाध्यक्ष, सदस्यहरु र कर्मचारीका लागि आवश्यक पर्ने मल वडा कार्यालयको नाममा छुट्याइदिएको बताउनुभयो । वलीले भन्नुभयो– ‘उहाँहरु पनि किसान हुनुहुन्छ । उहाँहरु दिनभर लाइन लाग्न भ्याउनुुहुन्न त्यसैले यो पटक १२ बोरा छुट्याइदिएका हौं । सबैको बाध्यता बुझ्नुप¥यो नि ।’ किसानलाई पनि दिइरहेका र सबै शेयर सदस्यलाई एकै पटक दिन सक्ने अवस्था नभएको व्यवस्थापक वलीले बताउनुभयो । ‘उपलब्ध भएको मल वडाका जनप्रतिनिधिहरुको रोहवरमा पारदर्शी ढंगबाटै वितरण गरेका छौं । किसानले एकै पटक खोज्नुहुन्छ, सरकारले नै पर्याप्त मल दिन सकेको छैन । सरकारबाटै एकै पटक दिन सकिने गरी मल उपलब्ध भए हामी दिन्छौं ।’– वलीले भन्नुभयो ।

उपलब्ध गराइएअनुसार त्यहाँको खेती योग्य जमिनको आधारमा तुलसीपुर–६ मा मलको समस्या नहुनुपर्ने कृषि शाखा प्रमुख धनराज गौतमले बताउनुभयो । उहाँले भन्नुभयो– ‘क्षेत्रफलको एकीन नहुँदा खेती योग्य जमिनभन्दा पनि सहकारीका आधारमा मल पठाएका छौं । तुलसीपुर–६ शहरी क्षेत्रबढी भएको वडा हो । त्यसकारण त्यहाँ मलको समस्या नदेखिनुपर्ने हो । वितरणमा पारदर्शीता भयो वा भएन भनेर माग गरेको अवस्थामा नाम लिष्टसहितको तथ्यांक उपलब्ध गराउनुपर्छ । शाखाबाट पनि त्यसको अनुगमन गरौंला ।’ तुलसीपुर–६ का वडाध्यक्ष दुजमान भण्डारीले त्यो मल बाहिर बेच्न नमिल्ने र वडाकै रोहवरमा बिक्री वितरण गरिने भएकोले बेतिथी नभएको दाबी गर्नुभयो । साथै उहाँले नागरिक तहबाट गुनासो आएको हुँदा मल बिक्री वितरणको तथ्यांक जाँच गरेर कमजोरी भएको भए, कारबाही गरिने बताउनुभयो । नयाँयुगबोध दैनिकबाट

प्रकाशित मिति: मंगलबार, असार १८, २०८१  ११:२७
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको