Chauthoanga - Nepali News Media
 प्रतिनिधिसभाबाट आज संघिय बजेट पारित गर्ने तयारी

काठमाडौँ - प्रतिनिधिसभाबाट आज संघिय बजेट पारित गर्ने तयारी गरिएको छ। प्रतिनिधि सभामा आज  विनियोजन विधेयक २०८१ आज पास गर्ने तयारी गरिएको हो । ​आज ११ बजे बस्ने बैठकमा अर्थमन्त्री वर्षमान पुनले विनियोजन विधेयक २०८१ लाई पारित गरियोस् भनी प्रस्ताव पेस गर्ने संसद् सचिवालयले जारी गरेको कार्यसूचीमा बताईएको छ । 

त्यसअघि विनियोजन विधेयकमाथिको छलफलमा उठेको प्रश्नको जवाफ सम्बन्धित मन्त्रीले दिने कार्यसूची छ । खर्च कटौतीको प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरिनेछ भने विनियोजन विधेयक २०८१ का दफाहरूलाई निर्णयार्थ प्रस्तुत गरिने सम्भावित कार्यसूचीमा उल्लेख छ । 
बैठकमा राष्ट्रियसभामा उत्पत्ति भएको सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक २०८० का सम्बन्धमा प्राप्त सन्देशसहितको विधेयक टेबुल गर्ने कार्यसूची समेत रहेको संसद् सचिवालयले जानकारी दिएको छ । 

सरकारले आजै बजेट पारित गर्ने तयारी गरेपछि नेपाली कांग्रेस संसद‍्मा अनिवार्य उपस्थित हुन सांसदलाई निर्देशन दिएको छ । पार्टीले यसअघि शुक्रबार बसेको संसदीय दलको बैठकमा पनि   बजेट पारित नहुञ्जेलसम्म अनिवार्य बैठकमा उपस्थिति हुन सांसदहरुलाई निर्देशन दिएको थियो । 

पार्टीले बजेट असन्तुलित, पक्षपाती र पूर्वाग्रहपूर्ण रहेको आरोप लगाउँदै आएको छ । बजेटमा संशोधन गर्नुपर्ने थुप्रै विषय रहे पनि हुबहु पारित गर्न लागिएको भन्दै कांग्रेस नेताहरुले आपत्ति जनाउँदै आएका छन् । 

प्रकाशित मिति: आइतबार, असार ९, २०८१  ०८:४९
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको