Chauthoanga - Nepali News Media
घोराहीमा एआई सम्बन्धी राष्ट्रिय सम्मेलन हुने 

घोराहीः दाङको घोराहीमा एआईद्वारा सञ्चालित सीप विकास र उदीयमान सञ्चार प्रविधिहरुको विषयमा राष्ट्रिय सम्मेलन  हुने भएको छ । 

राप्ती इञ्जिनियरिङ कलेज घोराही तथा सिलिकन रिसर्च एण्ड इनोभोसन सेन्टर काठमाडौं र स्वर्गद्वारी सामुदायिक  अध्ययन अनुसन्धान प्रतिष्ठानले शुक्रबार घोराहीमा पत्रकार सम्मेलन गरी एआई सम्बन्धी राष्ट्रिय सम्मेलन भोलि शनिबार घोराहीमा हुन लागेको जानकारी दिएको हो । 

कलेजका कार्यकारी निर्देशक डा. शैलेन्द्र गिरीले कार्यक्रमको विषयमा प्रकाश पार्दै विभिन्न विषयका विज्ञहरु र सरोकारवालाहरु बीचमा सीप अभिवृद्धिमा कृतिम बौद्धिकताको प्रयोग र उदयमान डिजिटल सञ्चार प्रविधिहरु विषयमा छलफल गर्ने सम्मेलनको मुख्य उद्देश्य रहेको बताए । उनले एआईमा आधारित सीप अभिवृद्धि र उदीयमान डिजिटल सञ्चार प्रविधिहरुमा भएको परिवर्तनले शिक्षा गुणस्तरमा परिवर्तन ल्याउन सक्ने प्रचुर सम्भावना रहेको कुरामा जोड दिए । 

सञ्चार क्षेत्रमा भएको क्रान्ति र कृतिम बुद्धिको शक्तिलाई उपयोग गर्नसके समाजले शिक्षा, स्वास्थ्य, सार्वजनिक सेवा प्रवाह र आर्थिक विकासमा निकै प्रगति गर्नेसक्ने समेत सम्भावना समेत उनले स्पष्ट पारे ।  सम्मेलनमा  विषय विज्ञहरुका बीचमा हुने ज्ञान र अनुभव आदानप्रदानले दीर्घकालीन रुपमा एआईलाई कसरी रणनीतिक रुपमा प्रयोग गर्ने र यसको विकास तथा विस्तारमा राज्यलाई जिम्मेवार बनाउनमा केन्द्रिय गर्ने डा. गिरीको भनाइ छ । 

सम्मेलन शनिबार बिहान ९ बजे सुरु हुने र त्यसमा नेपाल टेलिकम लगायत सूचना प्रविधि र शिक्षाका विषय विज्ञहरुले आफ्नो कार्यपत्र प्रस्तुत गर्ने आयोजकले बताएको छ । कार्यक्रममा  लुम्बिनी प्राविधिक विश्वविद्यालयका रजिस्ट्रार रेग भण्डारीको मुख्य कार्यपत्र प्रस्तुत हुने समेत आयोजकले जनाएको हो । विद्यालय तथा कलेजका प्रीन्सीपल, विद्यार्थी, सरकारी कर्मचारी, प्रहरी, जनप्रतिनिधि लगायत करिब तीनसय जनाको कार्यक्रममा उपस्थिति रहने आयोजनाले जानकारी बताएको छ । 

कलेजका कार्यकारी निर्देशक डा. शैलेन्द्र गिरीको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा नेपाल टेलिभिजनका कार्यबाहक नायब महाप्रबन्धक चिन्तामणी बराल, कलेज निर्देशक मधुसूदन वैद्य,  कलेजका प्रीन्सीपल रमेश गिरी, प्रेस काउन्सिल नेपालका सदस्य शरद अधिकारी, नेपाल पत्रकार महासंघ दाङ शाखाका अध्यक्ष दुर्गालाल केसी लगायतको उपस्थिति रहेको थियो ।  कार्यक्रमको सहजीकरण कलेजका प्रबन्ध निर्देशका डा. भिमसेन गिरीले गरेका थिए ।
Jang

प्रकाशित मिति: शुक्रबार, असार ७, २०८१  २१:०९
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको