Chauthoanga - Nepali News Media
लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्ध राप्तीमा सप्ताह व्यापी कार्यक्रम शुरु

देउखुरीः लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्ध राप्ती गाउँपालिकामा सप्ताह व्यापी कार्यक्रम शुरु भएको छ। ‘लागुऔषध रहित परिवार : स्वस्थ जीवनको आधार’ भन्ने राष्ट्रिय नाराका साथ राप्ती गाउँपालिकाकाे कार्यालय ,इलाका प्रहरी कार्यालय भालुबाङ र प्रहरी चाैकी मसुरीयाकाे संयुक्त आयोजनामा लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा साे कार्यक्रम शुरु गरिएको हाे।

कार्यक्रमकाे पहिलो दिन बिहीबार बिहान प्रभातफेरी तथा सचेतना मूलक कार्यक्रम सम्पन्न गरिएको छ। राप्ती गाउँपालिका जनप्रतिनिधि,इलाका प्रहरी कार्यालय भालुबाङ र मसुरीयाका प्रहरीहरु एवं  विभिन्न विद्यालयका शिक्षक तथा स्काउट विद्यार्थीहरुकाे सहभागीतामा प्रभातफेरी तथा सचेतना मूलक कार्यक्रम गरिएको हाे। राप्ती गाउँपालिका वडा नं.३ स्थिति श्रीचाैर खेलमैदान बाट लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको विभिन्न जनचेतनामूलक प्लेकार्ड सहित सुरु भएको प्रभातफेरी गाउँपालिकाकाे कार्यालय मसुरीयामा पुगेर कार्यक्रममा परिणत भएको थियो ।

इलाका प्रहरी कार्यालय भालुबाङका प्रमुख प्रहरी निरीक्षक अमर बहादुर माझीको अध्यक्षता तथा राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा बाेल्दै अध्यक्ष विष्टले लागुऔषधले मानिसको शारिरीक, मानसिक स्वास्थ्यमा गम्भिर असर पार्ने भएकाले विधालय तहबाटै लागुऔषध सम्बन्धी सचेतना कक्षा संचालन गरिनु पर्ने बताउनुभयो ।

त्यस्तै अध्यक्ष विष्टले बालबालिकाहरुलाई  घरमा अभिभावकले र विद्यायमा शिक्षकहरूले संस्कार सहितको शिक्षा दिनु पर्ने र उनीहरूको बानी व्यावहारमा ध्यान दिनुपर्ने बताउनुभयो ।

लागुऔषधले व्यक्ति, परिवार, समाज र राष्ट्रलाई नै समग्रमा असर गर्ने भएकाले यसको प्रयोग तथा बिक्रि वितरणमा राज्यले कडा नीति लिनु पर्ने अध्यक्ष विष्टको भनाई थियो । इलाका प्रहरी कार्यालय भालुबाङका प्रमुख प्रहरी निरीक्षक अमर बहादुर माझीले लागुऔषध आणविक हतियार प्रयोग गरि गरिएको युद्ध भन्दा पनि खतरनाक भएको बताउदै पछिल्लो चरण युवा पुस्ताहरुमा यसले  क्यान्सरको जस्तो रुपमा फैलिदै गएको बताउनुभयो ।

त्यस्तै उहाँले लागुऔषध प्रयोगकर्तालाई निरुत्साहित गर्नका लागि सचेतनामूलक कार्यक्रम सञ्चालन गरिने बताउनुभयो । त्यस्तै नार्काेनन् संस्थाका लुम्बिनी प्रदेश संयाेजक बसन्त पुन मगरले लागुऔषध दुर्व्यासनी शहरीकरणकाे उपज भएको बताउदै त्यसको राेकथाम र व्यवस्था गर्नु सबैको दायित्व भएको बताउनुभयो । प्रहरी चाैकी मसुरीयाका प्रमुख सहायक निरीक्षक खेमराज खनालका अनुसार सप्ताह व्यापी कार्यक्रम अन्तर्गत गाउँपालिका भित्र रहेका विभिन्न विद्यालय तथा टाेलहरुमा लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्ध जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिने भएको छ।

हरेक वर्षको जून २६ तारिखलाई अन्तर्राष्ट्रिय लागुऔषध दुरुपयोग तथा अवैध ओसार पसार विरुद्धको दिवसको रूपमा मनाउने संयुक्त राष्ट्र संघको सन् १९८७ को घोषणापत्रको ४२ को १ सय १२ खण्डमा उल्लेख गरिएको छ । विश्व लागुऔषध प्रतिवेदन २०२१ ले लागुऔषध प्रयोगकर्ताको संख्या बर्सेनि बढ्दै गइरहेको देखाएको छ ।नेपाल लागुऔषध प्रयोगकर्ता सर्वेक्षण २०७६ अनुसार नेपालमा लागुऔषध प्रयोगकर्ताको वार्षिक औसत वृद्धिदर ५.०६ प्रतिशत रहेको आँकलन गरिएको छ ।
 

प्रकाशित मिति: बिहीबार, असार ६, २०८१  २०:५२
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको