दाङ-बाँच्नका लागि हावा नभई हुन्न तर त्यही हावाले नै ज्यान लिने अवस्था आयो भने के हुन्छ ? बस्तीका बीचमै रहेका ठूला–ठूला उद्योगका कारण दाङमा वातावरण प्रदूषित बन्न लागेको छ ।
वायु प्रदूषण वातावरणीय मुद्दाको विषय त हो नै यो सँगै मानव स्वास्थ्यसँग जोडिएको संवेदनशील विषय पनि हो । विकासका नाममा गरिएको नजरअन्दाजले आम नागरिकको स्वास्थ्यमा प्राणघातक रोग वर्षिरहेको छ । दाङमा अहिले सगरमाथा सिमेन्ट, सोनापुर सिमेन्ट र सम्राट सिमेन्ट उद्योग सञ्चालनमा छन् । घोराही क्षेत्रमा सगरमाथा सिमेन्टको प्रदुषण छ भने तुलसीपुर क्षेत्रमा सोना सिमेन्ट तथा देउखुरी क्षेत्रमा सम्राट सिमेन्टले मानव वस्तीमा रोग वर्षाइरहेका छन् । यतिमात्रै होइन जिल्लामा ५७ वटा इँटा उद्योग, ४४ वटा क्रसर तथा बालुवा प्रशोधन उद्योग, आठ वटा खनिज अन्तर्गतका उद्योग सञ्चालनमा छन् र तिनले वातावरणीय मापदण्ड पालना नगर्दा वायुप्रदूषणले नागरिक स्वास्थ्यमा गम्भीर असर परिरहेको वातावरणविद्हरुको भनाइ छ ।
घरेलु तथा साना उद्योग कार्यालयको तथ्यांकअनुसार प्रशोधित पानी उत्पादन गर्ने उद्योग १२ वटा छन् । खाद्य उत्पादनसँग जोडिएका उद्योग पनि प्रशस्त छन् । हजारौं सवारी साधन सडकमा गुडिरहने दाङमा घोराहीको रामपुरमा एउटा मात्रै वायु प्रदूषण मापन उपकरण छ तर त्यही पनि वर्षौंदेखि बिग्रिएको अवस्थामा छ । दाङको वायु गुणस्तर मापनका लागि घोराही उपमहानगरपालिका–२ को वडा कार्यालय परिसरमा वातावरण विभागले स्थापना गरेको वायु प्रदूषण मापन केन्द्र बिग्रिएर थन्किएको छ । २०७५ साल जेठमा स्थापना गरिएको वायु प्रदूषण मापन केन्द्र दुई वर्षदेखि नचलेको वडा कार्यालयका कर्मचारी र जनप्रतिनिधि बताउँछन् । वातावरण विभागका सूचना अधिकारी दीपक ज्ञवालीले भने धेरै समयदेखि बिग्रिएको बताउँदै यस वर्ष मर्मत गरेर सञ्चालन गर्ने तयारी भएको बताउनुहुन्छ ।
वातावरण विभागले एक करोड २५ लाखको लागतमा रामपुरमा स्थापना गरेको वायु प्रदूषण मापन केन्द्रको उपकरण दुई वर्षदेखि थन्किदा दाङको वायु गुणस्तरको जानकारी नै आउन सकेको छैन । जिल्लामा त्यसको रेखदेख र निगरानी गर्ने जिम्मेवारी पनि छैन । विभागबाटै आएर हेर्ने व्यवस्था रहेको वातावरण विभागका वातावरण निरीक्षक गोविन्दप्रसाद लामिछानेलेले बताउनुभयो । उपकरण विग्रदा जिल्लाको वायु गुणस्तरको अवस्था के छ भनेर हाल मापनमा छैन । मापन केन्द्रले हावामा रहेका मसिना धुलोका कण तथा ग्याँसको मात्राको विश्लेषण हरेक मिनेटमा दिन्छ । केन्द्र स्थापना भएको क्षेत्रको हावालाई तानेर धुलो, धुवाँ र ग्याँ‘सको मात्रा विश्लेषण गर्छ । यसरी वायुमण्डलमा रहेको वायु प्रदूषणको मात्रालाई वायु गुणस्तर सूचकांक पिएम– १, पिएम– २.५ र पिएम– १० मा विश्लेषणलाई माइक्रोग्राम प्रतिघनमिटरमा मापन गर्छ । जसबाट वायु गुणस्तर मापन केन्द्र क्षेत्रमा रहेको वायु प्रदूषणको मात्रा तत्काल थाहा पाउन सकिन्छ भने ती तथ्यांकलाई विश्लेषण गरेर सरकारले वार्षिक कार्ययोजनामार्फत वायु प्रदूषण नियन्त्रणका कार्यक्रम सञ्चालन गर्न मद्दत पुग्छ ।
दाङको उपकरण बिग्रदा वायु प्रदूषण नियन्त्रणका कार्यक्रममा समेत प्रभाव परेको छ भने प्रदूषण बढे पनि त्यसको लेखाजोखा नै छैन । विभागका वातावरण निरीक्षक गोविन्दप्रसाद लामिछानेले दाङमा स्थापना गरिएको वायु प्रदूषण मापन केन्द्रले त्यस ठाउँको हावा पम्प गरेर भित्र तान्ने र त्यहाँ प्रदूषण कति छ भनेर मापन गर्ने काम गर्छ । त्यसबाट १० माइक्रोनभन्दा सानो धुलोका कणहरू कति छन् भनेर हेर्न सकिने उहाँ बताउनुहुन्छ । जमिनमा राखिएका उपकरणहरूले निश्चित क्षेत्रको हावाकै नमूनाका आधारमा प्रदूषण मापन गर्ने भएका कारण भू–उपग्रहबाट लिइने तथ्यांक भन्दा त्यसलाई थप विश्वसनीय मानिन्छ । उपकरण बिग्रिएदेखि दाङको प्रदुषणको वास्तविक डाटा नै आउन सकेको छैन ।
प्रदूषणले प्राणघातक रोग
वायु प्रदूषणले ब्रोन्काइटिस, दम, फोक्सोको क्यान्सर, एसबेस्टोसिस, साइस्टिक फाइब्रोसिस, निमोनिया जस्ता श्वासप्रश्वाससम्बन्धी रोग हुनुका साथै मुटुको रोग, स्ट्रोक, मस्तिष्क घात, आँखा, नाक, कान, घाँटी र छालाको जलन, हाइपर टेन्सनका बिरामीको संख्या बढ्दै गएको युरोपियन इनभायरोमेन्ट एजेन्सीको रिपोर्टले देखाएको छ । उच्च वायु प्रदूषणकै कारण हिउँदमा उत्सर्जित बाक्लो खैरो बादल उत्तर भारत र नेपाल भएर बंगालको खाडीतर्फ उड्दै जाँदा सूर्यको किरणलाई छेकिदिएर शीतलहर आउने र तराई क्षेत्रको हिउँदे बालीनालीमा ठूलो नोक्सानी हुने गरेको छ । वायुमण्डलमा प्रदूषक तत्वहरूले सूर्यको प्रकाशलाई छेक्ने र बोटबिरुवा, वनस्पतिका पातमा समेत धुलोको तहले छोपिने हुँदा प्रकाश संश्लेषण प्रक्रिया अवरुद्ध हुन गई उत्पादकत्वमा कमी आउँछ ।
घोराही सिमेन्ट उद्योग प्रभावित क्षेत्रका भरत देवकोटाले सिमेन्ट उद्योगको प्रदुषणका कारण मानिसको स्वास्थ्यमा मात्रै नभएर खेतीपातीमा समेत असर परेको बताउनुहुन्छ । प्रदुषणको विषयमा न्यायालयसम्म धाएको बताउँदै उहाँले न्यायालयबाट भएको आदेशको समेत पालना नभएको बताउनुभयो । ‘हामी प्रदुषण रोक्न माग गर्दै उच्च न्यायालयसम्म पुग्यौं । न्यायालयले प्रदुषण रोक्न भन्यो तर घटेन उस्तै छ प्रदुषण’– उहाँले भन्नुभयो– ‘अहिले त खेतीपाती पनि हुँदैन भए पनि खान लायक नै हुँदैन ।’ घोराही सिमेन्ट उद्योगका जनसम्पर्क अधिकृत अमर सुवेदीले भने उद्योगका कारण प्रदुषण नभएको दाबी गर्नुभयो । फिल्टर लगायतका प्रविधि जडान गरिएकोले प्रदूषण नभएको उहाँको दाबी छ । ‘प्रदूषण छैन फिल्टर जडान गरिएको छ सबै अटोमेटिक छ’– उहाँले भन्नुभयो– ‘ध्वनि प्रदूषण पनि छैन नेपाल सरकारको मापदण्ड भित्रै छ, २÷३ महिनामा मन्त्रालयबाट निरीक्षण पनि भइरहेको छ ।’
सामान्यतया ० देखि ५० एक्युआईसम्मको हावालाई स्वच्छ मानिन्छ । एयर क्वालिटी लाइफ इन्डेक्स २०२३ को प्रतिवेदन अनुसार विश्वको एक चौथाइ जनसंख्याको बसोबास भएको दक्षिण एसियामा पर्ने नेपालसहित बंगलादेश, भारत र पाकिस्तान विश्वकै दश अति वायु प्रदूषित देशको सूचीमा परेको थियो । त्यही प्रतिवेदनले वायु प्रदूषणका कारण यस क्षेत्रमा बसोबास गरिरहेका व्यक्तिको औसत आयु करिब पाँच वर्षले घटेको अनुमान पनि गरेको थियो । बढ्दो औद्योगिकीकरण, वन डढेलो, आगलागी, अव्यवस्थित शहरीकरण, जनसंख्या बृद्धि, कलकारखाना, घरभित्र बालिने दाउरा, कोइला, मट्टितेल र गुइँठा ढुंगागिट्टी, इँटाभट्टा, भट्टीजडित उद्योग, सडक विस्तार, पुराना प्रविधि तथा आवश्यक मर्मतसम्भारविहीन सवारी साधन, कृषिमा बाँकी रहने अवशेषहरूको उचित व्यवस्थापन नगरी खेतबारीमै जलाउने प्रचलन, खाल्टाखुल्टीयुक्त धुलाम्मे सडक तथा अव्यवस्थित निर्माण सामग्रीहरू सडकमै थुपार्ने प्रचलनले सिंगो वातावरण नै प्रदुषण भइरहेको छ ।
एक हजार विद्यार्थी समस्यामा
वि.स. २००८ सालमा स्थापना भएको विद्यालयमा हाल एक हजार २४ विद्यार्थी अध्ययनरत छन् । ४० जना शिक्षक कर्मचारी छौं । हाम्रो विद्यालय घोराही सिमेन्ट उद्योगको दुई सय मिटर नजिकै छ । विद्यालयमा पठन पाठन भइरहेकै समयमा ध्वनि प्रदुषण हुने, धुलोले सताउने गरिरहेको छ । कहिलेकाहीं त आकाश नै ढाकिएको जस्तो धुम्म हुन्छ । यसको प्रभाव सबैलाई परेको छ । उद्योगका कारण वातावरणीय प्रभाव ब्यापक परेको छ । आँखा चिलाउने, खोकी लाग्नेजस्तो समस्या भइनै रहन्छन् । अझ दीर्घरुपमा यो धुलो र ध्वनिको समस्या कति परेको होला ? यी समस्याबारे कसैले चासो लिएको छैन । हजार बढी विद्यार्थीको स्वास्थ्यमा खेलवाड भइरहेको छ । यी बालबालिकाका लागि न मास्क छ न त धुलो, धुवाँ नै रोक्न सकिएको छ । हाम्रो आग्रह कसैले सुन्दैनन् ।
बढ्दै बिरामी
सिमेन्ट उद्योगको धुवाँ धुलोले बस्नै नसकिने अवस्था छ । के गर्नु सेवा दिनै प¥यो । कहिले काहीं झ्याल ढोका बन्द गरेर पनि मास्क नलगाइ बस्न नसक्ने बनाउँछ । उद्योग वरपरका क्षेत्रमा विरामी बढिरहेका छन् । स्वासप्रश्वास सम्बन्धी विरामी बढेका छन् । क्षयरोगका विरामी त गत वर्षको तुलनामा दोब्बर नै बढी भेटिएका छन् । चालु आर्थिक वर्षको हालसम्म ४८ जनामा क्षयरोग संक्रमण भेटिएको छ । एउटै वडामा यति धेरै विरामी भेटिनु सामान्य कुरा होइन । अझ अरु दीर्र्घकालीन असर देखिनै बाँकी छ । अब क्यान्सरका विरामी बढ्ने, बाँझोपन बढ्ने जस्ता समस्या देखिने जोखिम छ । दिउँसोको समयमा कम भए पनि रातिमा ठूलो आवाज निकाल्ने र प्रदूषण पनि बढी भएको देखिन्छ । नयाँयुगबोध दैनिकबाट