Chauthoanga - Nepali News Media
आज विश्व वातावरण दिवस

काठमाडौँ- ‘हाम्रो भूमि, हाम्रो भविष्य’ नारासाथ आज विश्व वातावरण दिवस मनाइँदै छ । नेपालमा पनि यही नारासाथ देशव्यापी रूपमा दिवस मनाइँदै छ । 

हाम्रो भूमि अर्थात् पृथ्वीलाई स्वच्छ राख्दा नै सबैको भविष्य सुरक्षित हुन्छ भन्ने सन्देश दिवसको नाराले दिन खोजेको छ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले दिवसका अवसरमा सन्देश दिँदै भन्नुभएको छ, “मानवता भूमिमा निर्भर छ, तैपनि संसारभरि प्रदूषणको विषाक्तता, जलवायु परिवर्तनको अराजकता र जैविक विविधताको विनाशले स्वस्थ भूमिलाई मरुभूमिमा परिणत गर्दै छ र समृद्ध पारिस्थितिक प्रणालीलाई मृत क्षेत्रमा परिणत गर्दै छ ।” साथै तिनीहरूले जङ्गल र घाँसे मैदान विनाश गर्दै पारिस्थितिक प्रणाली, कृषि र समुदायमा समेत गम्भीर असर पारेको उहाँले औँल्याउनुभएको छ ।  

देशहरूले वातावरण संरक्षणका लागि गरेको प्रतिबद्धता पूरा गर्नुपर्नेमा उहाँले जोड दिनुभएको छ । दिगो विकासको लक्ष्य भेट्न सन् २०३० सम्ममा वन फँडानीलाई कसरी रोक्ने भनेर आफ्नो नयाँ राष्ट्रिय जलवायु कार्य योजना प्रयोग गर्न पनि सुझाउनुभएको छ । 

उहाँले सन्देशमा भन्नुभएको छ, “त्यसका लागि हामीले विकासोन्मुख देशलाई प्रतिकूल मौसममा अनुकूलन गर्न, प्रकृतिको संरक्षण गर्न र दिगो विकासलाई समर्थन गर्नका लागि ठुलो मात्रामा आर्थिक स्रोत उपलब्ध गराएर सघाउनु पर्छ ।” 

वातावरण संरक्षणका लागि वन तथा वातावरण मन्त्रालय र यस मातहत रहेको वातावरण विभागले विभिन्न पहल गर्दै आएको छ तर पनि व्यवहारमा लागु हुन नसकेको पाइएको छ । 

वातावरण सफा राख्नु भनेको वरिपरि सफा राख्नु र हावाको स्वच्छ पार्नु हो भन्ने सबैलाई थाहा भएकै कुरा रहेको विभागका महानिर्देशक भूपाल बराल बताउनुहुन्छ । उहाँका अनुसार विभागले पनि वातावरण संरक्षणका लागि समन्वयकारी भूमिका निर्वाह गरेर वातावरण शिक्षा विद्यालय तहसम्म पु¥याउन सघाइरहेको छ तर वातावरण संरक्षण मानिसको जीवनसँग अत्यन्त जोडिएको छ । 

त्यसैले यो स्वच्छता हाम्रा लागि जरुरी हो भन्ने विषय नबुझेको पाइएको उहाँ औँल्याउनुहुन्छ । उहाँले भन्नुभए जस्तै वन, वातावरण संरक्षणसँगै पछिल्लो समय जलवायु परिवर्तनलगायतका विषयका सैद्धान्तिक ज्ञान विद्यालय शिक्षाका पाठ्यक्रममा छ । त्यही पढेर फोहोर गर्नु हुँदैन, रुख रोप्नु पर्छ, जलवायु परिवर्तनले असर पारिररहेको छ भन्ने जस्ता कुरा नयाँ पुस्ताका बालबालिकासहित सबैले पढेरै थाहा पाइरहेका देखिन्छन् । त्यसको व्यावहारिक उपयोगको पाटोमा भने ज्ञान दिने र लिने दुवैथरी कमजोर रहेको उहाँले स्वीकार गर्नुभयो । 

 

प्रकाशित मिति: बुधबार, जेठ २३, २०८१  ०९:०६
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको