Chauthoanga - Nepali News Media
लुम्बिनी सरकारले पायो पूर्णता, कृष्णा केसी उर्जामन्त्री नियुक्त

दाङ -  लुम्बिनी प्रदेश सरकारले आज पूर्णता पाएको छ । प्रदेश सरकारको १२ औँ मन्त्रीका रुपमा कृष्णा केसी उर्जामन्त्री बन्नुभएको छ । मुख्यमन्त्री जोखबहादुर महराले केसीलाई मन्त्री थपेर मन्त्रिपरिषद्लाई पूर्णता दिनुभएको हो ।  प्रदेशमा यसअघि १० वटा मन्त्रालय रहेकोमा भागवण्डा मिलाउन सरकारले १२ वटा मन्त्रालय पुर्याोएको थियो। 

महराले आज नेकपा माओवादीबाट बाँके निर्वाचन क्षेत्र नं १ को ‘क’बाट निर्वाचित कृष्णा केसीलाई उर्जा, जलस्रोत तथा सिंचाइमन्त्रीमा नियुक्त गर्नुभएको हो ।  उहाँको  नियुक्तिसँगै लुम्बिनी प्रदेशको मन्त्रिपरिषद् १२ सदस्यीय पुगेको छ । 

नवनियुक्त मन्त्री केसीले आजै प्रदेश प्रमुखसमक्ष देउखुरीको लुम्बिनी हलमा पद तथा गोपनीयताको सपथग्रहण गर्नुभएको छ । लुम्बिनी प्रदेश सरकारमा एमालेबाट आर्थिक मामिलामन्त्रीसहित ५, माओवादीबाट मुख्यमन्त्रीसहित ३, नागरिक उन्मुक्ति, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टीबाट १–१ मन्त्री छन्। स्वतन्त्रबाट १ जना मन्त्री भएका छन्। ८७ सदस्यीय प्रदेश सभामा रहेका ४८ सांसदको समर्थनमा अहिलेको सरकार बनेको छ।


 

प्रकाशित मिति: सोमबार, जेठ २१, २०८१  १७:४७
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको