Chauthoanga - Nepali News Media
लुम्बिनी प्रदेशमा ४० प्रतिशतमात्र बजेट खर्च

दाङ - लुम्बिनी प्रदेशमा चालु आर्थिक वर्षमा जम्मा ४० प्रतिशतमात्रै बजेट खर्च भएको छ । प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार वैशाख मसान्तसम्म कुल बजेटको ४०.२३ प्रतिशत रकम खर्च भएको छ । पुँजीगततर्फ विनियोजित रकमको ४०.२१ प्रतिशत र चालुतर्फ ४०.२७ प्रतिशत खर्च भएको छ । वैशाख मसान्तसम्म ६ अर्ब ९३ करोड खर्च भएको छ ।

लुम्बिनी प्रदेश सरकारले वैशाख मसान्तसम्म चालु र पुँजीगत बजेट खर्च प्रतिशतको हिसाबले बराबरजस्तै बजेट खर्चगरेको प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालयले जनाएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालय प्रमुख दीपक ज्ञवालीले चालु आर्थिक वर्षका लागि विनियोजित ४० अर्ब ४७ करोड ९७ लाख रुपैयाँ बराबरको बजेटमध्ये चालुतर्फ १७ अर्ब २२ करोड रुपैयाँ छुट्याइएको छ । 

यस्तै पुँजीगततर्फ विनियोजित २३ अर्ब २५ करोड रुपैयाँमध्ये ९ अर्ब ३५ करोड रुपैयाँ खर्च भएको कोष नियन्त्रक कार्यालयले जनाएको छ । चालु आर्थिक वर्ष सकिन जम्मा दुई महिनामात्र बाँकी रहेकाले निरन्तर खर्च गर्दा पनि कुल खर्च ६५ प्रतिशतसम्म पुर्याउन सकिने कार्यालय प्रमुख दीपक ज्ञवालीको भनाइ छ ।गत आर्थिक वर्ष प्रदेश सरकारले कुल बजेटको ७१ प्रतिशत खर्च गरेको थियो ।

प्रकाशित मिति: शनिबार, जेठ १२, २०८१  ०७:०७
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको