Chauthoanga - Nepali News Media
लुम्बिनी प्रदेशमा आगामी आर्थिक वर्षको बजेट घट्ने

दाङः लुम्बिनी प्रदेशमा आगामी आर्थिक वर्षको बजेट घट्ने भएको छ । राजस्व सङ्कलनमा सङ्कुचन आएपछि आगामी आर्थिक वर्षको बजेट घटाइने भएको हो  । चालु आर्थिक वर्षमा ६ अर्ब ७३ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको प्रदेश सरकारले अपेक्षित राजस्व सङ्कलन गर्न नसकेपछि बजेटको आकार घट्ने भएको हो । अब केन्द्र सरकारले पठाएको बजेटलाई नै बाँडफाँट गरेर आगामी वर्षका लागि बजेट निर्माण गर्नुपर्ने भएपछि बजेटको आकार घट्ने निश्चित देखिएको हो । चालु आर्थिक वर्षको तुलनामा करिब ३० प्रतिशत बजेट घट्ने अनुमान गरिएको छ । प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले सोही आधारमा मन्त्रालयहरूलाई बजेट सिलिङ पठाइसकेको छ । अब बजेटको सिद्धान्त र प्राथमिकताका विषयमा छलफल हुने मन्त्रालयका उपसचिव एवं प्रवक्ता सुरेन्द्र पाण्डेले जानकारी दिनुभयो ।

अहिलेको बजेटमा पुँजीगततर्फ ७५ प्रतिशत र चालुमा ७० प्रतिशतभित्र रहेर बजेट माग गर्न मन्त्रालयहरूलाई निर्देशन दिएको जानकारी दिनुभयो । लुम्बिनी प्रदेश सरकारले चालु आव २०८०/८१ का लागि ४० अर्ब ४७ करोड ९७ लाखको बजेट ल्याएको थियो । जसमा चालुतर्फ १३ अर्ब ६३ करोड ३० लाख ९९ हजार, पुँजीगततर्फ २३ अर्ब २५ करोड ६९ लाख एक हजार रकम विनियोजन थियो । यस्तै वित्तीय हस्तान्तरणका लागि तीन अर्ब ५८ करोड ९७ लाख अर्थात् ८.८७ प्रतिशत रहने अनुमान गरिएको थियो तर वित्तीय हस्तान्तरण अन्तर्गत ७४ प्रतिशत मात्रै रकम सङ्घ सरकारबाट आएको आर्थिक मामिला मन्त्रालय स्रोतले जनाएको छ ।
 

प्रकाशित मिति: बिहीबार, वैशाख २७, २०८१  १५:२०
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको