काठमाडौं- देशभर आज र भोलि (वैशाख ६ र ७ ) गते पाँच वर्ष मुनिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाईंदै छ । ‘राष्ट्रिय भिटामिन ‘ए’ को सबै तयारी पूरा भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, स्वास्थ्य सेवा विभागको पोषण शाखाले जनाएको छ ।
शाखाका अनुसार भिटामिन ‘ए’ क्याप्सुल छ महिनादेखि ५९ महिनाका बालबालिका तथा जुकाको औषधि एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई खुवाइनेछ । भिटामिन ‘ए’ करिब ३२ लाख बालबालिकालाइ र जुकाको औषधि करिब २९ लाख बालबालिकालाई खुवाइने छ ।
भिटामिन ‘ए’ कार्यक्रमका लागि ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका र १० हजार स्वास्थ्यकर्मी खटिसकेका छन् । पोषण शाखा प्रमुख लीलाविक्रम थापाले ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमसँगै सोही दिन खोप लगाउन छुटेका बालबालिकालाइ खोप पनि लगाइने बताउनु भएको छ ।
भिटामिन ए ले बच्चालाई कमजोरी हुनबाट बचाउँछ । लुलो लङ्गडो हुन रोक्छ । अशक्त हुनबाट बचाउनुका साथै अरु रोगसँग लड्ने क्षमता पनि बढाउँछ । रतन्धो जस्तो घातक रोग हुनबाट समेत यसले रोक्छ । त्यसैले आफ्ना बालबालिकाहरुलाई निशुल्क रुपमा उपलब्ध भएको यो औषधि सेवन गराउने कार्यमा अनिवार्य रुपमा सहभागी बन्न सरोकारवाला निकायहरुले आग्रह गरेका छन् ।
भिटामिन ए को कमीको रोकथाम तथा नियन्त्रण कार्यक्रमको लागि हरेक सुचिकृत स्वास्थ्य संस्थाहरुले सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकाहरुद्वारा वर्षको दुईपटक कार्तिक र वैशाख महिनामा बालबालिकाहरुलाई भिटामिन ए को क्याप्सुल खुवाइन्छ । भिटामिन एले शरिरलाई बिभिन्न किसिमका संक्रमण हुनबाट बचाउँछ ।
बालबालिकाको बृद्वि विकासमा महत्वपूर्ण सहायता गर्दछ । यो आमाको बिगौती दुध, सिङ्गो माछा, जनावरको दूध, हरिया सागपात, कर्कलो, जनावरको कलेजो र किड्नी अन्डा, पहेँला फलफूल, तरकारी, फर्सी मेवा आदिमा स्रोतको रुपमा पाइन्छ भने तयारी क्याप्सुलको रुपमा बिभिन्न मात्रामा सुरक्षित साथ तयार पारिएको हुन्छ । त्यासैले यसलाई अत्यन्तै महत्वपूर्ण र स्वस्थबर्द्धक पोषक तत्वको रुपमा मानिएको छ ।
सरकारबाट निशुल्क रुपमा बितरण गरिएका यी महत्त्वपूर्ण स्वास्थ्य सम्बन्धी अभियानका कार्यक्रमहरुलाई सबैले सहयोग गर्नुपर्ने सरोकारवालाहरु बताउँछन् आ-आफ्नो पायक पर्ने स्वास्थ्य संस्थामा आफ्नो बालबालिकाले प्राप्त गर्ने समय अबधिका आधारमा अनिवार्य रुपमा औषधि सेवन गराउनु हरेक बाबाआमा र सरोकारवाला सम्पूर्ण नागरिकको कर्तब्य मानिन्छ ।