काठमाडौँ — उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ नौ दिने चीन भ्रमणमा जानुहुने भएको छ । चैत ११ देखि १९ सम्म चिनियाँ समकक्षी वाङ यीको निमन्त्रणमा उहाँ चीन जान लाग्नुभएको हो । कूटनीतिक र राजनीतिक भेटवार्तामा व्यस्त रहँदै धार्मिक यात्रासमेत गर्न उपप्रधानमन्त्री श्रेष्ठको चीन भ्रमणमा जान लाग्नुभएको हो ।
बेइजिङमा उपप्रधानमन्त्री श्रेष्ठले त्यहाँका विदेशमन्त्री वाङसँग द्विपक्षीय भेटवार्तासँगै दुई मुलुक बीचका विविध पक्षका बारेमा कुराकानी गर्ने कार्यक्रम रहेको छ । उक्त अवशरमा कुनै पनि विषयमा हस्ताक्षर गर्ने योजना नभए पनि द्विपक्षीय विषयमा बेल्ट एन्ड रोड इनिसियटिभको कायान्वयन योजना लगायतका विषयमा छलफल हुने परराष्ट्र स्रोतले दाबी गर्यो । बेइजिङमा कुटनीतिक यात्रामा व्यस्त रहने उपप्रधानमन्त्री श्रेष्ठले त्यसपछि राजनीतिक भेटवार्ता गर्नुहुने छ ।
परराष्ट्र मन्त्रालय स्रोत अनुसार श्रेष्ठले बेइजिङपछि चीनका विभिन्न प्रान्तमा राजनीतिक भेटवार्ता पनि गर्नुहुने छ । उहाँले छोङछिङ, ल्हासा र छेन्दुका चिनियाँ कम्युनिष्ट पार्टीका प्रान्तीय सचिवहरुसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।
उपप्रधानमन्त्री श्रेष्ठको भ्रमण धार्मिक पनि रहेको छ । उहाँले मानसरोवरको यात्रा पनि गर्ने कार्यक्रम रहेको छ ।