Chauthoanga - Nepali News Media
लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन आजदेखि सुरु हुदैः चार वटा विधेयक दर्ताको तयारी

दाङ- लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन आजदेखि सुरु हुदै छ । अधिवेशनको पहिलो बैठक आज शुक्रबार दिउँसो ३ बजे बस्दैछ ।

नेपालको संविधानको धारा १८३ को उपधारा (१) र धारा १६६ को उपधारा (२) अनुसार मन्त्रिपरिषद्ले प्रदेश प्रमुखलाई हिउँदे अधिवेशनका लागि गरिएको सिफारिस अनुसार प्रदेश प्रमुख अमिक शेरचनले बैठक आह्वान गर्नुभएको थियो । दोस्रो प्रदेशसभाको तेस्रो प्रदेश अधिवेशनका लागि गरेको आह्वान अनुसार आज दिउँसो बैठक बस्न लागेको प्रदेशसभा सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिनुभयो ।

सरकारले हिउँदे अधिवेशनमा स्थानीय तहको निजामती कर्मचारी विधेयकलगायत चार वटा विधेयक दर्ताको तयारी गरेको छ । हिउँदे अधिवेशनको पहिलो बैठकमा प्रदेश प्रमुखले अधिवेशन आह्वान सम्बन्धी पठाएको पत्र पढेर सुनाउने, मन्त्रिपरिषद्मा कार्यविभाजन हेरफेर सम्बन्धी पत्र समेत पढेर सुनाउने, दोस्रो अधिवेशनबाट पारित भई प्रदेश प्रमुखबाट प्रमाणिकरण भएका विधेयकहरुको बारेमा पत्रहरु प्राप्त भएको र त्यसबारे सभामा जानकारी गराउने, विभिन्न संसदीय दलको तर्फबाट तेस्रो अधिवेशनको सफलताको शुभकामना दिने सम्भावित कार्यसूची रहेको प्रदेश सचिव मगरले जानकारी दिनुभयो ।

लामो समयपछि प्रदेशसभाको तेस्रो अधिवेशनको पहिलो बैठक बस्न थालेको हो ।लुम्बिनी प्रदेशसभाको बैठक गत भदौ २६ देखि बस्न सकेको थिएन । प्रदेशसभाको बैठक बस्न नसक्दा प्रदेशसभा सदस्यहरु कामबिहीन बनेका थिए । दुई वटा अधिवेशनमा ३५ वटा बैठक सम्पन्न भएका थिए । ५७ घण्टा ३३ मिनेट छलफल हुँदा प्रदेशसभाले मूल विधेयक एउटा, साल बसाली विधेयक दुईवटा, संशोधन विधेयक एक गरी जम्मा चारवटा विधेयक पारित भएको थियो ।

प्रकाशित मिति: शुक्रबार, फागुन १८, २०८०  ०८:४१
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको