एजेन्सी: भारतको दिल्ली सरकारका स्वास्थ्य मन्त्री सत्येन्द्र जैन सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परेका छन् । अरविन्द केजरीवाल सरकारका स्वास्थ्य मन्त्री जैन सन् २०१५/०१६ मा कोलकाताको एक फर्मसँगको लेनदेनमा संलग्न भएको आरोपमा पक्राउ परेका भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
भारतको केन्द्रीय अनुसन्धान ब्युरो (सीबीआई) ले जैन र उनको परिवारविरुद्ध २०१७ को अगस्टमा १ अर्ब ६२ करोड भारतीय रुपैयाँ सम्पति आर्जन गरेको भन्दै मुद्दा दायर गरेको थियो । जैन पक्राउ परेकोमा आम आदमी पार्टीले विरोध गरेको छ । जैन हिमाञ्चल प्रदेशका आम आदमी पार्टीका इञ्चार्ज समेत रहेका छन् । आम आदमीले भ्रष्टाचार र अनियमितता विरुद्ध आवाज उठाउँदै आएको छ ।
केही दिन अघि पञ्जाब सरकारका स्वास्थ्यमन्त्री पनि ठेकेदारसँग घुस मागेको आरोपमा पक्राउ परेका थिए । घुस मागेको आरोपमा बर्खास्तीमा परेका पञ्जाबका स्वास्थ्य मन्त्री विजय सिंगला गएको १० गते पक्राउ परेका थिए ।