Chauthoanga - Nepali News Media
मातृभाषाको प्रयोग बढाउँदै लैजानुपर्छ : मन्त्री शर्मा

काठमाडौं - सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले संविधानले नेपाललाई बहुभाषिक मुलुकको रूपमा स्थापित गर्दै सबै मातृभाषालाई राष्ट्रभाषाको मान्यता दिएकाले राज्यका हरेक निकायमा यसको प्रयोग बढाउँदै लैजानुपर्ने बताउनुभएको छ । मातृभाषाले राज्यप्रति सम्बन्धित समुदायको अपनत्व स्थापित गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने पनि उहाँले स्पष्ट गर्नुभयो ।

राष्ट्रिय समाचार समिति (रासस)को राष्ट्रिय (मातृभाषा) को समाचार सेवा शुभारम्भ गर्नुहुँदै  उहाँले पछिल्लो राजनीतिक परिवर्तनपछि नेपाल वास्तविक बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक बनेको पनि स्पष्ट गर्नुभयो ।

‘‘हामीले संविधानमै राष्ट्रको परिभाषा स्पष्ट गर्दै बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्त, भौगोलिक विविधतामा रहेका समान आकाङ्क्षा र नेपालको राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय हित तथा समृद्धिप्रति आस्थावान रही एकताको सूत्रमा आबद्ध सबै नेपाली जनता समष्टिमा राष्ट्र हो भनेका छौँ’’ मन्त्री शर्माले भन्नुभयो, ‘‘नेपालमा बोलिने सबै मातृभाषाहरू राष्ट्रभाषा हुन् ।’’

त्यति मात्र होइन नेपाली भाषाका अतिरिक्त प्रदेशले आफ्नो प्रदेशभित्र बहुसङ्ख्यक जनताले बोल्ने एक वा एकभन्दा बढी अन्य राष्ट्रभाषालाई प्रदेश कानुन बमोजिम प्रदेशको सरकारी कामकाजको भाषा निर्धारण गर्न सक्ने स्पष्ट व्यवस्था संविधानले गरेको स्मरण गराउनुहुँदै उहाँले भाषा सम्बन्धी अन्य निर्णय गर्नुपरेमा आवश्यक सिफारिस गर्न भाषा आयोग पनि क्रियाशील रहेकाले अब भाषाकै आधारमा कोही उत्पीडनमा परेको महसुस गर्नु नपर्ने बताउनुभयो ।

राज्यका नीति निर्णयहरू जनताको बिचमा पुर्‍याउने र जनताका अपेक्षाहरू राज्यका निकायसम्म पुर्‍याउन पुलको भूमिका निर्वाह गर्ने मुख्य दायित्व बोकेका सरकारी सञ्चारमाध्यमहरूले मातृभाषाको प्रयोगलाई बढाउँदै लैजानुपर्ने मन्त्री शर्माको भनाइ छ ।

मन्त्री शर्माले समाचार बैङ्कको रूपमा रहेको राससले मातृभाषामा सामग्री उत्पादन गर्दा अब राज्यद्वारा सञ्चालित मिडियासँगै निजी क्षेत्रमा सञ्चालन भएका मिडियालाई राज्यको आधिकारिक तथा विश्वसनीय समाचार सम्प्रेषण गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

नेपालमा मातृभाषामा सञ्चालन हुने सञ्चारमाध्यमले जनशक्ति र आर्थिक स्रोतको अभावमा सम्बन्धित भाषामा आवश्यक सामग्री प्राप्त गर्न नसक्दा समस्या भोगिरहेको उल्लेख गर्नुहुँदै  उहाँले राससले सम्बन्धित भाषामै सामग्री उपलब्ध गराउन सकेका खण्डमा भाषाभाषीका सञ्चारमाध्यमले भोग्ने यस्ता समस्यालाई केही हदसम्म अन्त्य गर्न सकिने विश्वास व्यक्त गर्नुभयो ।

‘‘राससले मातृभाषामा आफ्नो सेवा विस्तार गर्दा संविधानको सङ्घीयता र समावेशीको मर्मलाई समेत आत्मसात् गरेको ठहरिन्छ । सङ्घीयता र समावेशिता कार्यान्वयन गर्नु सरकारको दायित्व हो र राससले आजदेखि प्रारम्भ गरेको मातृ भाषा समाचार सेवालाई सरकारकै कार्यक्रमका रूपमा लिइनुपर्छ ।,’’ मन्त्री शर्माले भन्नुभयो, ‘‘यसमा सङ्घीय सरकारको मात्र नभई, प्रदेश र स्थानीय तहहरूको समेत दायित्व स्थापित गर्न खोज्नु अझ महत्त्वपूर्ण छ ।’’

प्रकाशित मिति: सोमबार, पुस २३, २०८०  १५:०९
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको