ललितपुर - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सडकमा देखिएका केही गणतन्त्र विरोधी पक्षले नकारात्मकता फैलाइरहेकोले परिवर्तन पक्षधर राजनीतिक दल र नेताको भुमिकालाई जनतामाझ पुर्याउने गरी काम गर्न स्थानीय जनप्रतिनिधिहरुलाई आग्रह गर्नुभएको छ ।
उहाँले जनतालाई अधिकार सम्पन्न बनाउने सरकार स्थानीय तह भएकाले जनप्रतिनिधिले यस विषय जनतामा सम्प्रेषण गरी सकारात्मक सोचको विकास गर्नुपर्ने बताउनुभएको छ ।
ललितपुर महानगरपालिकाको १ सय ५ औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले ललितपुर महानगरपालिका तथा अन्य पालिकाले पूर्वाधार विकास, संस्कृति तथा सम्पदाको संरक्षण, सेवा प्रवाह र सुशासन, शिक्षा, पूर्वाधार क्षेत्रमा गरेका अनुकरणीय कार्य जनप्रतिनिधिहरुले जनतालाई थाहा दिनुपर्ने बताउनुभयो ।
प्रधानमन्त्री प्रचण्डले काठमाडौ उपत्यकाको फोहोर व्यवस्थापन र खानेपानी समस्याको निराकरणकामा सरकारको सधै साथ र सहयोग रहने बताउनुभयो ।
उहाँले, सार्वजनिक निर्माणमा देखिएका कमीकमजोरी र सम्पदाको पुनर्निर्माणमा देखिएका नीतिगत र कानुनी जटिलता सम्बोधनका लागि सार्वजनिक खरिद प्रक्रियामा नीतिगत र कानुनी सुधारका प्रयास भइरहेको बताउनुभयो ।
प्रधानमन्त्री प्रचण्डले रोजगारी पाएका र सुविधा भएका मानिस पनि मंहगो रकम तिरेर विदेशिने प्रचलन बढेको भन्दै नकारात्मक सोच त्यागी सबैमा राष्ट्रप्रेमको भावना विकास गरिनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले उपभोक्ता समितिबाट पनि धेरै सांस्कृतिक सम्पदा बनाइसेकेको भन्दै सार्वजनिक खरिद ऐन २०६३ मा भएका कमि कमजोरीलाई तत्काल सुधार गर्न अनुरोध गर्नुभयो ।
प्रमुख महर्जनले छिमेकी देशहरुले प्रयोग गरेको प्रविधिलाई प्रयोग गरेर काठमाडौ उपत्यकाको फोहोर व्यवस्थापन गर्न सकिने भएकाले त्यसमा तत्काल काम गर्नुपर्ने बताउनुभयो ।