Chauthoanga - Nepali News Media
एनसेलको शेयर विक्रीसम्बन्धी अध्ययन गर्न उच्चस्तरीय समिति गठन गर्ने सरकारको निर्णय

काठमाडौँ- सरकारले एनसेलको शेयर खरिदबिक्रीका सम्बन्धमा उठेको प्रश्नको अध्ययन गर्न एक उच्चस्तरीय समिति गठन गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रीपरिषद्को बैठकले पूर्व महालेखा परीक्षक टङ्कमणि शर्माको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको हो ।

समितिको सदस्यहरूमा सरकारका सचिव फणिन्द्र गौतम, सहसचिवद्धय बाबुराम भण्डारी र हृदेशकुमार शाक्य, तथा आइक्यानका अध्यक्ष सुजनकुमार काफ्ले रहनुभएको छ ।

समितिलाई ३० दिनभित्र एनसेलको शेयर विक्रीका सम्बन्धमा अध्ययन गरी सरकारलाई प्रतिवेदन बुझाउन समय दिइएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयो ।

त्यस्तै मन्त्री परिषद् बैठकले खानेपानी तथा महसुल निर्धारण आयोगको अध्यक्षमा रुद्रप्रसाद गौतमलाई नियुक्त गर्ने निर्णय पनि गरेको छ ।

संवत् २०८० साल मङ्सिर २१ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु

१। दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको शेयर खरिद बिक्रीका सम्बन्धमा अध्ययन तथा छानबिन गरी एक महिनाभित्र प्रतिवेदन पेश गर्न पूर्व महालेखापरीक्षक टङ्कमणि शर्माको संयोजकत्वमा उच्चस्तरीय अध्ययन तथा छानबिन समिति गठन गर्ने । 

सदस्यः श्री फणीन्द्र गौतम, सचिव– नेपाल सरकार

सदस्यः श्री रितेशकुमार शाक्य, सहसचिव– अर्थ मन्त्रालय

सदस्यः श्री बाबुराम भण्डारी, सहसचिव– सञ्चार तथा सूचना प्रविधि मन्त्रालय

सदस्यः श्री सुजनकुमार काफ्ले, अध्यक्ष– आइक्यान

२। खानेपानी तथा महसुल निर्धारण आयोगको रिक्त अध्यक्ष पदमा श्री रुद्रप्रसाद गौतमलाई तथा सदस्य पदमा श्री यशोदा कार्की र श्री कुलभूषण शर्मालाई नियुक्त गर्ने ।

३। विश्व बैंकबाट ‘प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रम पहिलो चरण’को लागि प्राप्त हुने सहायतासम्बन्धी वार्ता गर्नका लागि अर्थ मन्त्रालयका सहसचिवको संयोजकत्वमा वार्ता टोली गठन गरी वार्ता गर्न अख्तियारी दिने ।

प्रकाशित मिति: बिहीबार, मंसिर २१, २०८०  १२:२५
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको