काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशको आर्थिक विकास निम्ति उत्पादनसँग जोड्न र जनताको जीवनस्तर उकास्न नवीनतम प्रविधिको महत्वपूर्ण भूमिका रहने बताउनु भएको छ ।
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानको ४६ औँ प्रज्ञासभामा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले नवीनतम र उदीयमान प्रविधि विकासको अपरिहार्यतालाई आत्मसात गर्दै विज्ञान र प्रविधिको विस्तारलाई प्रवर्धन गर्न नास्ट र यसका सहयात्री संस्थाहरूले खेलिरहेको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो ।
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानको कुलपति समेत रहनु भएका प्रधानमन्त्री प्रचण्डले विज्ञान तथा प्रविधिको विकासका लागि नेपालले बढी जोड दिनुपर्ने भन्दै यसको स्पष्ट अवधारणा पत्र आएमा सहकार्य लागि नेपाल सरकार तयार रहेको बताउनुभयो ।
प्रधानमन्त्री प्रचण्डले वैज्ञानिकहरूलाई देशको आवश्यकतालाई समेट्ने खालका परियोजना प्रस्तावहरू तयार गर्न आग्रह गर्दै प्रज्ञासभाका निर्णयहरू गम्भीरताका कार्यान्वयन हुनेमा विश्वास समेत व्यक्त गर्नुभयो ।
उहाँले विज्ञान प्रविधिलाई प्रदेशस्तरमा प्रवद्र्धन गर्न नास्टबाट सबै प्रदेशमा विशिष्टीकृत अनुसन्धान केन्द्र स्थापना गर्ने कार्य प्रारम्भ भइसकेकोले विज्ञान तथा प्रविधिलाई प्रदेशको आवश्यकता बमोजिमको विकासमा थप मद्दत पुग्ने विश्वास समेत व्यक्त गर्नुभयो ।
प्रधानमन्त्री प्रचण्डले चालु आर्थिक वर्षदेखि नेपाली युवाहरूमा अनुसन्धान क्षमताको विकास गरी योगदान दिने अनुकूल वातावरण सिर्जना गर्न युवा वैज्ञानिक अनुसन्धान सहयोग कार्यक्रम नास्टमार्फत सञ्चालनमा ल्याइएको जानकारी समेत गराउनु भयो ।