काठमाडौं - कोशी प्रदेश सभाको बैठक आज बस्दैछ । बैठक बिराटनगरस्थित कोशी प्रदेशको सभाहलमा बिहान ११ बजे बस्नेछ । गत असोज २० गते स्थगित भएको प्रदेशसभाको बैठक आज कात्तिक १ गते बिहान ११ बजे बस्नेगरी बोलाइएको हो ।
आजको बैठकमा मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत लिदै हनुहुन्छ । नेपाली कांग्रेसका कोशी प्रदेश सांसद कार्कीले गठबन्धनको निर्णय विपरीत बिद्रोह गरेर एमालेका ३९ जना र कांग्रेसका ८ जना प्रदेश सांसद सहित ४७ जनाको समर्थन लिएर मुख्यमन्त्रीमा दाबी पेश गरेपछि उहाँ गत शनिबार मुख्यमन्त्रीमा नियुक्त हुनु भएको थियो ।
कार्की संविधानको धारा १६८ (५) अनुसार मुख्यमन्त्री बन्नु भएको हो ।एमालेका ३९ र कांग्रेसका ८ सांसदको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त हुनुभएका कार्कीला सत्ता गठबन्धनमा आबद्ध नेकपा (माओवादी केन्द्र) ले पनि विश्वासको मत दिने जनाएको छ ।
९३ सदस्यीय कोशी प्रदेशमा बहुमतका लागि ४७ जनाको समर्थन आवश्यक पर्छ । प्रदेशसभामा मतदानका बेला राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरु भने तटस्थ बस्ने भएको छ ।