धनगढी - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सुशासन, सामाजिक न्याय र आर्थिक विकासलाई गति दिनका निम्ति सरकारले नयाँ पहल गरिरहेको बताउनु भएको छ । उहाँले सरकार सुशासन, सामाजिक न्याय , विकास र समृद्धिलाई प्राथमिकता दिएर अघि बढिरहेको बताउनु भयो ।
आज कैलालीको लम्कीमा आयोजित नेकपा माओवादी केन्द्रका प्रदेश उपाध्यक्ष स्वर्गीय कृष्ण बडुवाल ‘महेश’ को श्रद्धाञ्जली कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले सधैँभरि देश, जनता र समाजप्रति समर्पित स्वर्गीय महेश बडुवाल हामी सवैका लागि प्रेरणा बन्नु भएको छ, भन्नुभयो । उहाँले सामाजिक रुपान्तरणका लागि पुर्याएको योगदान सदा स्मरण रहने छ भन्नु हुँदै प्रधानमन्त्री प्रचण्डले स्वर्गीय बडुवालप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभयो ।
प्रधानमन्त्री प्रचण्डले वैदेशिक रोजगारीमा गएका नेपालीहरूलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गरी भविष्य सुनिश्चित गरिएको छ भन्नुहुँदै सरकारले मुलुक भित्र अनौपचारिक क्षेत्रका श्रमिकहरूलाई समेत सामाजिक सुरक्षा कोषमा आबद्ध गर्ने प्रक्रिया अघि बढाएको बताउनु भयो । उहाँले अर्थतन्त्रको सुधारका लागि सरकार क्रियाशील रहेको बताउनु भयो ।अर्थतन्त्रको मेजर अप्रेसनका लागि सरकारले चाडै उच्च स्तरीय समिति बनाएर काम अघि बढाउने उहाँले बताउनु भयो ।
कार्यक्रममा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाह लगायत सहभागी रहनु भएको थियो ।