Chauthoanga - Nepali News Media
प्रधानमन्त्रीको चीन भ्रमणको औपचारिक तालिका सार्वजनिक

काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चीन भ्रमणको औपचारिक घोषणा भएको छ । परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री प्रचण्डको सात दिने भ्रमणको औपचारिक घोषणा गरेको हो ।

चीनका प्रधानमन्त्री लि छ्याङको निमन्त्रणामा हुन लागेको भ्रमणमा उहाँले राष्ट्रपति सी चिनफिङसँग पनि भेटवार्ता गर्नुहुने छ । प्रधानमन्त्रीले चिनियाँ राष्ट्रपति सी जिनपिङलाई हाङ्झाउमा भेट गर्ने कार्यक्रम छ भने समकक्षी प्रधानमन्त्री ली छ्याङसँग द्विपक्षीय भेट गर्नुहुने छ ।

प्रधानमन्त्रीको भ्रमण टोलीमा छोरी गंगा दाहाल, परराष्ट्रमन्त्री नारायण प्रकाश साउद, खानेपानी मन्त्री महिन्द्र राय यादव, भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला रहनुभएकाे छ ।

राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास बैरागी, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठ, अन्य वरिष्ठ सरकारी अधिकारीहरुका साथै व्यापारिक समुदायका प्रतिनिधिहरुको समेत सहभागी हुनेछन् ।

प्रधानमन्त्री प्रचण्डले बेइजिङस्थित नेशनल पिपुल्स कंग्रेसको स्थायी समितिका अध्यक्ष झाओ लेजीसँग पनि भेट गर्ने परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा बताईएको छ ।

प्रधानमन्त्री प्रचण्ड सेप्टेम्बर २३ मा हाङ्जाओमा हुने १९औँ एसियाली खेलकुदको उद्घाटन समारोहमा सहभागी हुनुहुने छ । उहाँले चीनको कृषि तथा औद्योगिक विकासको अवलोकन गर्न चोङकिङ नगरपालिकाको भ्रमण गर्ने कार्यक्रम छ ।

प्रकाशित मिति: बिहीबार, असोज ४, २०८०  १८:०४
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको