काठमाडौँ - कार्यवाहक प्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले संविधानको कार्यान्वयनमार्फत जनताको आकाङ्क्षा परिपूर्ति गर्न सरकार निरन्तर प्रयासरत रहेको बताउनुभएको छ ।
संविधान दिवस, २०८० का अवसरमा आजे सैनिक मञ्च टुँडिखेलमा आज आयोजित विशेष समारोहमा कार्यवाहक प्रधानमन्त्री खड्काले संविधानका आधार स्तम्भहरू क्रमशः सबल बन्दै गएसँगै देशमा राजनीतिक स्थायित्व कायम भएकाले अबको कार्यसूची सुशासन, समृद्धि र सामाजिक न्याय भएको स्पष्ट गर्नुभयो ।
कार्यवाहक प्रधानमन्त्री खड्काले संविधानप्रति सबैको सच्चा सम्मान र समर्पणले नै देशलाई समृद्ध लोकतन्त्रको नयाँ उचाइमा पुर्याउने विश्वास व्यक्त गर्नुभयो ।
कार्यवाहक प्रधानमन्त्री खड्काले संविधानको कार्यान्वयनबाट सुन्दर र समृद्ध राष्ट्र निर्माण गर्दै जनतालाई गरिबी, अशिक्षा र पछौटेपनबाट मुक्ति दिलाइ समतामूलक समाजको सिर्जना गर्नु साझा दायित्व रहेको औँल्याउनुभयो ।
कार्यवाहक प्रधानमन्त्री खड्काले संविधानको मर्म र भावनाबमोजिम राज्यका सम्पूर्ण संयन्त्रलाई प्रभावकारी रूपमा परिचालन गरिएको उल्लेख गर्नुहुँदै सेवालाई सरल र सुलभ बनाउन सरकार प्रयत्नशील रहेको स्पष्ट पार्नुभयो ।
कार्यवाहक प्रधानमन्त्री खड्काले स्वास्थ्य पूर्वाधार एवं सेवाहरूको विस्तार र सुदृढीकरण गरी महामारी नियन्त्रण तथा विपद् व्यवस्थापन एवं न्यूनीकरण गर्न सरकारले सक्दो प्रयास गरेको र डेङ्गु रोग फैलन नदिन र यसबाट हुनसक्ने सम्भावित क्षति न्यून गर्न आवश्यक तयारी गरिरहेको पनि जानकारी दिनुभयो ।
कार्यवाहक प्रधानमन्त्री खड्काले बाढी, पहिरोजस्ता विपद्का कारण भएको धनजनको क्षतिमा तत्काल राहत, उद्धार र पुनःस्थापनाका लागि प्रदेश र स्थानीय तहसमेतको समन्वयमा काम गरिएको उल्लेख गर्नुभयो ।
कार्यवाहक प्रधानमन्त्री खड्काले संविधान दिवसका अवसरमा कुनै आग्रह र पूर्वाग्रह नराखी देश र जनताको बृहत्तर हितलाई सर्वोपरि ठानेर विकास र समुन्नतिमा जुट्न सबैमा समेत आग्रह गर्नुभयो ।
संविधान दिवस, २०८० का अवसरमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानन्यायाधीश विश्वम्भर श्रेष्ठ, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्का, उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ, मन्त्रीहरू, सङ्घीय संसद्का सभापति र सांसदहरू, संवैधानिक निकायका प्रमुख एवं पदाधिकारी, विदेशी मित्रराष्ट्र तथा नियोगका प्रमुख र प्रतिनिधि, राष्ट्रसेवक कर्मचारी तथा सञ्चारकर्मीको उपस्थिति थियो ।
विशेष समारोहका अवसरमा नेपाली सेनाको हेलिकोप्टरबाट ‘संविधान दिवस, २०८०’ लेखिएको ब्यानर प्रदर्शन तथा पुष्पवृष्टि गरिएको थियो । ब्यानर लेखिएको हेलिकोप्टरले चक्रपथ परिक्रमा गरेको थियो । मैदानबाट रङ्गीचङ्गी बेलुन र शान्तिका दूत परेवा उडाइनुका साथै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका विभिन्न टोलीबाट मार्चपास तथा साङ्गीतिक प्रस्तुति गरिएको थियो ।
संविधान दिवसका अवसरमा काठमाडौँ महानगरपालिका, ललितपुर महानगरपालिका र भक्तपुर नगरपालिकाद्वारा सांस्कृतिक झाँकी प्रस्तुत गरिएको थियो भने सूचना तथा प्रसारण विभागबाट प्रकाशित ‘नेपाल’ द्वैमासिकको संविधान दिवस विशेषाङ्क विमोचन गरिएको थियो ।