दाङः दाङमा कृतिम जलाशयमा पौडि खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका वडा नं १७ डबरीमा रहेको आरोग्य ड्याममा पौडी खेल्ने क्रममा डुबेर सोही ठाउँका ८ वर्षीय आयुष घर्तीको मृत्यु भएको हो ।
शनिबार दिउँसो २ः३५ बजे आयुषसहित ९ बर्षीय शिलम पुन, १० बर्षीय आयुष सुनार र १० बर्षकै सुनिल सुनार पौडी खेल्न गएका थिए । अन्य तीन जना जलाशयको छेउमा पौडी खेलेका थिए ।
तर आयुष जलाशयको बिचमा पौडी खेल्न गएपछि डुबेको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक मुकुन्दप्रसाद रिजालले जानकारी दिनुभयो । आयुष डुबेको खबर अन्य बच्चाहरुले तत्कालै घरमा भनेपछि अभिभावकले प्रहरीलाई जानकारी गराएका थिए ।
त्यस लगत्तै प्रहरी घटना स्थल पुग्दा बालकको मृत्यु भएको अबस्थामा शब निकालेको प्रहरी नायव उपरीक्षक रिजालले बताउनुभयो । बालकको शव पोष्टमार्टम पछि परिवारको जिम्मा लगाइएको छ ।