Chauthoanga - Nepali News Media
माओवादी केन्द्रले लुम्बिनी प्रदेशमा ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ शुरु गर्दै

दाङ - नेकपा माओवादी केन्द्रले भदौ १६ देखि शुरु गर्न थालेको तीनमहिने अभियानको तयारी तीब्र बनाएको छ । ‘घर–घरमा माओवादी, जनजनमा माओवादी’ भन्ने मूल नाराका साथ माओवादी केन्द्रले देशैभरि एकैपटक ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ शुरु गर्दैछ ।लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका (देउखुरी) मा बसेको चौथो पूर्ण बैठकले अभियान सफल पार्न तयारी थाल्ने निर्णय गरेको केन्द्रीय सदस्य जगप्रसाद शर्मा ‘अपार’ले जानकारी दिनुभयो । बैठकले प्रदेशका १२ वटै जिल्लामा अभियान संयोजक तोकेको छ । जसअनुसार रुकुमपूर्वमा कमला रोका, रोल्पामा पूर्ण घर्ती, प्युठानमा निर्मल आचार्य, गुल्मीमा जोखबहादुर महरा, अर्घाखाँचीमा बामदेव क्षेत्री, पाल्पामा कृष्णध्वज खड्का, नवलपरासी पश्चिममा हकिकुल्ला खाँ, रुपन्देहीमा गणेशमान पुन, कपिलवस्तुमा महेश्वर गहतराज, दाङमा जयपुरी घर्ती, बाँकेमा कुलप्रसाद केसी र बर्दियामा पूर्णाकुमारी सुवेदी अभियान संयोजक तोकिनुभएको छ ।

बैठकमा सबै जिल्ला संयोजकले रिपोर्टिङ गरेका थिए भने हालै भएको पार्टी केन्द्रीय समिति बैठकका निर्णयबारे उपाध्यक्ष कृष्णबहादुर महरा, प्रदेश इञ्चार्ज हितमान शाक्य, स्थायी समिति सदस्य रेखा शर्मालगायतले जानकारी गराउनुभएको थियो । पार्टी सत्ता, राज्य सत्ता र सामाजिक सत्तालाई एक अर्कामा जोड्दै सुशासन, सामाजिक न्याय र समृद्धिको महाअभियान सफल पार्न जनतासँग एकाकार अभियानको मूल उद्देश्य रहेको केन्द्रीय सदस्य शर्माले जानकारी दिनुभयो । 
प्रदेशका एक सय नौ पालिकामा पार्टी संगठन सुदृढ गर्ने, नौ सय ८३ वडामा पार्टी संगठन सुदृढ एवं विस्तार गर्ने, हजारौँ पार्टी सदस्यहरुलाई परिचालन गर्ने र लाखौं जनतामा पुग्ने लक्ष्य राखिएको उहाँले जानकारी दिनुभयो । अभियानलाई तीन चरणमा सम्पन्न गर्ने निर्णय बैठकले गरेको छ । भदौ १ देखि १५ सम्म आन्तरिक तयारी, १६ गते उद्घाटन र २५ गतेसम्म वामअप तथा भदौ २६ देखि मंसिर १५ सम्म निरन्तरताको चरण भनिएको छ । बैठकले जगप्रसाद शर्माको नेतृत्वमा चक्रव्यूह थापा, नारायण अधिकारी, लक्ष्मी चौधरि रहेको अभियान अनुगमन तथा प्रशिक्षण टीम निर्माण गरेको छ ।

यस्तै माओवादी केन्द्रले अभियान सफल पार्न केन्द्रीय सदस्यलाई जिल्ला बाहिर पठाउने नीति लिएको छ । अभियान अवधिभर केन्द्रीय पदाधिकारीलाई अन्तरप्रदेश, स्थायी समिति सदस्य र केन्द्रीय सदस्यलाई अन्तर जिल्ला र प्रदेश सदस्यहरुलाई अन्तरपालिका खटाउने गरी कार्यक्षेत्र विभाजन गर्ने केन्द्रीय समितिको बैठकबाट नै निर्णय भएको नेताहरुले बताएका छन् । अभियान टीमले पालिका, वडा र टोलस्तरसम्म कार्यक्रम गर्नुपर्नेछ ।
 

प्रकाशित मिति: शुक्रबार, भदौ १, २०८०  ०९:४९
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको