Chauthoanga - Nepali News Media
आज साउन १५ अर्थात  खिर खाने दिनः खिर खाएर मनाइदै

दाङः आज साउन १५ अर्थात खिर खाने दिन ।  खिर खाएर मनाइँदै छ । असार १५ गते दहीच्यूरा र साउन १५ मा खिर खाने नेपाली परम्परा छ । साउने झरी पर्ने बेलामा तातो खिरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खिर खाने गरिएको हो ।

दूधमा मरमसलालगायत चीजबीज हालेर बनाइने खिरले स्वास्थ्यमा राम्रो गर्ने भएकाले यसको परम्परा बसेको विश्वास छ। साउन महिनामा गाउँघरमा पनि खेतीपातीको काम सकिन्छ ।

हरियाली बढी हुने भएकाले घाँस बढी पाइन्छ । राम्रा धेरै घाँस पाइने बेलामा गाई, भैँसीले पनि धेरै दूध दिन्छन् । दूध धेरै भएपछि इष्टमित्र, चेलीबेटीलाई घरमा बोलाएर खिर खाने चलन चलेको विश्वास छ ।

चामल, साबुदाना, सेवई, मकै, गाजर लगायतको खिर बनाउने गरिन्छ । साउन महिनामा हरियो मकै धेरै पाइने भएकाले मकैको खिरसमेत बनाएर खाने चलन छ । दूधबाट बनेको खिरले मानव शरीरमा रोग प्रतिरोधी क्षमता विकास गर्ने राष्ट्रिय दुग्ध विकास बोर्डले जनाएको छ ।

बोर्डको २०७७ साल फागुन १५ गते बसेको बैठकले साउन १५ लाई खिर खाने दिन अर्थात् खिर दिवसका रुपमा मनाउने निर्णय गरेको थियो ।

प्रकाशित मिति: सोमबार, साउन १५, २०८०  ०८:३१
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको