दाङ- दाङमा सम्बन्ध बिच्छेद बढ्दै गएको पाइएको छ भने जबर्जस्ती करणीलगायतका अपराध पनि घट्न नसकेको पाइएको छ ।
दाङ देउखुरी जिल्ला अदालतमा परेका मुद्दाको अवस्थाले सम्बन्ध विच्छेद र बलात्कारजन्य घटना नियन्त्रण हुन नसकेको पाइएको हो । दाङमा एक वर्षमा मात्रै करणीसम्बन्धी कसुरका एक सय ८९ मुद्दा परेका छन् । त्यस्तै चोरी तथा डाँका कसुरका दुई सय ११, ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभसम्बन्धी कसुरका ३६, लागूऔषधसम्बन्धी एक सय १४ मुद्दा परेका छन् । दुनियाँवादी देवानी मुद्दामा पारिवारिक विवादसम्बन्धी दुई हजार एक सय ६१ मुद्दा परेका छन् जसमा सबै भन्दा धेरै सम्बन्ध बिच्छेदका एक हजार तीन सय ५५ छन् ।
अंशबण्डाका चार सय ६४, अपुतालीका २२ र अन्य दुई सय ११ छन् । सम्पत्ति सम्बन्धी परेका आठ सय ७८ मुद्दामा सबै भन्दा धेरै लिखत बदर सम्बन्धी चार सय दुई रहेका छन् । त्यसैगरी लेनदेनसम्बन्धी तीन सय ५४, जग्गासम्बन्धी ९३, भोगाधिकारसम्बन्धी तीन, सार्वजनिक जग्गा सम्बन्धी पाँच, घरबहाल सम्बन्धी १२ र अन्य पाँच छन् । जिल्ला अदालतमा गत आर्थिक वर्ष बहुविवाहका ७३ र बालविवाहका चार मुद्दा परेका छन् । त्यस्तै कर्तव्य ज्यानका ३३, ज्यान मार्ने उद्योगका एक सय आठ, आत्महत्या गर्न दुरुत्साहनका २२, गर्भ संरक्षण विरुद्धको कसुर र व्यक्ति बेपत्ता पार्नेमा तीन÷तीन, अपहरण गर्ने कसुरमा नौ, बोक्सीको आरोपमा आठ, सवारी ज्यान सम्बन्धीमा ८९ मुद्दा परेका छन् ।
दाङ देउखुरी जिल्ला अदालतमा गत आर्थिक वर्ष २०७९÷०८० मा परेका पाँच हजार एक सय ९१ मुद्दामा तीन हजार एक सय २३ मुद्दा फछ्यौट भएका छन् भने दुई हजार ६८ बाँकी रहेको दाङ देउखुरी जिल्ला अदालतका श्रेष्तेदार हिरण्यप्रसाद भण्डारीले जानकारी दिनुभयो । त्यस वर्ष अघिल्लो वर्षको सरेर आएका मुद्दा एक हजार नौ सय ४५ थिए ।
सम्बन्ध विच्छेदका मुद्दा बढी
जिल्ला अदालतका अनुसार एक वर्षको अवधिमा एक हजार तीन सय ५५ सम्बन्धबिच्छेदका मुद्दा दर्ता भएका छन् । चालु आवमा सम्बन्धबिच्छेदका एक हजार ३१ मुद्दा फछ्र्यौट गरेको दाङ देउखुरी जिल्ला अदालतका श्रेष्तेदार भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार गत आर्थिक वर्ष २०७९÷०८० मा सम्बन्ध विच्छेदका एक हजार तीन सय ५५ मुद्दामा तीन सय नौवटा फछ्र्यौट गर्न बाँकी छन् । आर्थिक वर्ष २०७८÷०७९ मा पनि अवस्था उस्तै थियो । उक्त वर्ष एक हजार तीन सय ७९ मुद्दा परेकामा एक हजार ३१ सम्बन्ध विच्छेदका मुद्दा फट्यौट भएका थिए भने तीन सय ४८ बाँकी थिए ।
जबर्जस्ती करणी मुद्दा पनि उत्तिकै
जिल्लामा जबर्जस्ती करणीका मुद्दा पनि बढी रहेको देखिन्छ । सरकारवादी फैजदारी मुद्दा अन्तर्गतको जबर्जस्ती करणी कसुरमा गत आर्थिक वर्ष २०७९÷०८० मा एक सय ८९ मुद्दा परे । जसमा ७६ वटा मात्रै फछ्र्यौट भए भने एक सय १३ प्रक्रियामा रहेका छन् । जबर्जस्ती करणी कसुरमा सबै भन्दा धेरै एक सय ४५ मुद्दा परेका छन् जसमा ५३ फछ्र्याैट भए भने ९२ प्रक्रियामा छन् । जबर्जस्ती करणी उद्योगमा २७ मुद्दा परेकोमा १३ फछ्यौट भई १४ प्रक्रियामा छन् । बाल यौन दुरुपयोगको १६ मुद्दामा १० फछ्र्याैट भई छवटा बाँकी छन् भने अप्राकृतिक मैथुनको एउटा मुद्दा फट्यौट हुन बाँकी छ ।
अघिल्लो आर्थिक वर्ष २०७८÷०७९ मा पनि जबर्जस्ती करणी कसुरमा गत वर्षको भन्दा धेरै मुद्दा थिए । उक्त वर्ष दुई सय १४ मुद्दामा एक सय ४२ फछ्र्यौट भई ७२ मुद्दा प्रक्रियामा थिए । जसमा जबर्जस्ती करणीका एक सय ४९ मुद्दा परेका थिए जसमा ९९ फछ्र्याैट भएका थिए । जबर्जस्ती करणी उद्योगमा परेका २८ मुद्दा १६ फछ्र्यौट भएका थिए । हाडनाता करणीमा १९ मुद्दा परेकोमा १२, बाल यौन दुरुपयोगको १६ मुद्दामा १३ र अप्राकृतिक मैथुनको दुई मुद्दामा दुईवटै फछ्र्यौट भएका थिए ।
लागूऔषधका बढे
आर्थिक वर्ष २०७८÷०७९ भन्दा गत आर्थिक वर्ष २०७९÷०८० मा लागूऔषधसम्बन्धी कसुरका मुद्दा बढेको पाइएको छ । आर्थिक वर्ष २०७८÷०७९ मा एक सय चार मुद्दा परेकोमा गत आर्थिक वर्ष २०७९÷०८० मा एक सय १४ मुद्दा परेका छन् । जसमा गत आर्थिक वर्ष लागूऔषध हिरोइनका २१, ब्राउनसुगरका ७३, गाँजा चरेसका ११ र अन्य नौवटा परेका छन् । आर्थिक वर्ष २०७८÷०७९ मा लागूऔषध हिरोइनका १२, ब्राउनसुगरका ६५, गाँजा चरेसका १३ र अन्य १४ वटा परेका थिए । नयाँयुगबोध राष्ट्रिय दैनिक बाट