Chauthoanga - Nepali News Media
प्रधानमन्त्री प्रचण्ड आज इटालीको रोम जाँदै

काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज (शनिबार) इटाली प्रस्थान गर्दै हुनुहुन्छ ।

इटालीको राजधानी रोममा यही साउन ८ देखि १० गतेसम्म आयोजना हुने संयुक्त राष्ट्रसंघीय खाद्य प्रणालीकाे शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री दाहाल त्यसतर्फ जान लाग्नुभएको हो ।

परराष्ट्र मन्त्रालयका अनुसार ‘युनाइटेड नेसन्स फुड समिट प्लस टु स्टकटेकिङ मोमेन्ट’ नामक शिखर सम्मेलनका लागि नेपाल सरकारका तर्फबाट व्यक्त गर्नुपर्ने औपचारिक धारणा, त्यसका लागि आवश्यक कार्यसूची तथा त्यहाँ रहँदा हुन सक्ने सम्भावित आदानप्रदानका लागि आवश्यक सम्झौता र समझदारीका खाका तयार भएका छन्।

प्रधानमन्त्री प्रचण्डसँग उहाँका स्वकीय सचिवसमेत रहेकी छोरी गंगा दाहाल, कृषि तथा पशुपन्छी विकासमन्त्री डा. बेदुराम भुसाल, राष्ट्रिय योजना आयोगका सदस्य डा. जयकान्त राउत र नेपाल सरकारका अन्य वरिष्ठ अधिकारी इटाली जाँदै हुनुहुन्छ ।

भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्डले अतिकम विकसित मुलुकको अध्यक्षको हैसियतमा सोमबार सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्नुहुनेछ ।

कार्यक्रमका क्रममा प्रधानमन्त्रीले खाद्य तथा कृषि सङ्गठन (एफएओ) का महानिर्देशक, विश्व खाद्य कार्यक्रमका कार्यकारी निर्देशक, कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोषका अध्यक्ष लगायत संयुक्त राष्ट्रसंघीय कार्यालयका उच्च व्यक्तिहरूसँग द्विपक्षीय भेटवार्ता गर्नुहुनेछ । प्रधानमन्त्री दाहाल यही जुलाई २८ मा स्वदेश फर्किने कार्यक्तम छ।

प्रकाशित मिति: शनिबार, साउन ६, २०८०  ११:२०
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको