काठमाडौँ- नेपालका पशुमा ‘लम्पी स्किन’ रोग देखापरेको तीन वर्ष भयो तर यसबिचमा रोकथामको प्रभावकारी पहल हुन नसक्दा महामारीको रूप लिएको छ। नेपालमा पहिलो पटक २०७७ असारमा मोरङको सुन्दरहरैँचाका पशुमा लम्पी स्किन रोग देखिएको थियो। अहिले लम्पीले प्रभाव नपारेको कुनै जिल्ला छैन।
आर्थिक वर्ष २०७७/७८ मा आठ जिल्लाका ११ पालिकामा फैलिँदा यसको क्षति दर धेरै थिएन। आव २०७८/७९ मा नौ जिल्लाका ११ पालिकामा देखियो। आव २०७९/८० सकिँदा ७७ जिल्लाका ५४२ पालिकामा यो सङ्क्रमण फैलिएको छ। स्थानीय तह तथा प्रदेशबाट एकीकृत तथ्याङ्क सङ्कलन नहुँदा रोगले पारेको क्षतिको यकिन विवरणसमेत सार्वजनिक हुन सकेको छैन।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार असार मसान्तसम्म ७७ जिल्लाका सात लाख ९९ हजार ११७ पशु यो रोगबाट सङ्क्रमित छन् भने २८ हजार ४२४ पशु मरेका छन्। भैँसीको तुलनामा गाईगोरुमा धेरै सङ्क्रमण देखिएको छ र मर्नेमा पनि भैँसीको सङ्ख्या निकै कम छ।
यो त पशुको मृत्युको सङ्ख्या मात्रै हो। यसबाट किसानमा परेको मार र राज्यले बेहोर्ने आर्थिक भार बेग्लै छ। नेपाल पशु चिकित्सा परिषद्का प्रवक्ता डा. मनोजकुमार शाहीले लम्पीबाट असार मसान्तसम्ममा ३९ अर्ब २६ करोड ४६ लाख १३ हजार ७५९ रुपियाँको क्षति पु¥याएको जानकारी दिनुभयो। एउटा पशुमा लम्पीको सङ्क्रमण भएपछि ४९ हजार १३५ रुपियाँको क्षति पुग्ने र त्यही सङ्क्रमितको सङ्ख्यालाई गुणन गर्दा सो क्षतिको आर्थिक विवरण तयार पारिएको उहाँले उल्लेख गर्नुभयो।
पशु चकित्सकका अनुसार लम्पी लागिसकेपछि निको भए पनि उक्त पशुको क्षमता ८० प्रतिशत नाश भइसकेको हुन्छ। त्यसले पूर्ववत् जीवन जिउन र काम दिन सक्दैन। त्यसैले सङ्क्रमित भएको विवरणका आधारमा आर्थिक नोक्सानीको हिसाब निकालिएको हो।
लम्पी सङ्क्रमित पशुको एकीकृत र खण्डित तथ्याङ्क अझै आएको छैन। त्यसैले अर्थतन्त्रका अरू क्षेत्रमा पर्ने प्रभावको अनुमान मात्र गरिएको छ। दुध उत्पादन, कृषि उत्पादन र जीविकोपार्जनमा यसले पार्ने प्रभाव ठुलो छ। नेपालका लागि कोभिड–१९ का कारण पुगेको क्षतिकै हाराहारीमा यसको असर देखिने सम्भावना छ।
नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) का वैज्ञानिक डा. नारायण पौडेलले लम्पी सङ्क्रमणले पारेको क्षतिले आर्थिक, सामाजिक र सांस्कृतिक रूपमा असर पार्ने बताउनुभयो। गोठमा भएको एउटा गाई मर्दा किसानले आर्थिक रूपमा मात्रै नभएर धार्मिक, सांस्कृतिक र सामाजिक रूपमा समेत क्षति बेहोर्ने उहाँले उल्लेख गर्नुभयो।
महामारीको स्वरूप धारण गरिसकेको यो सङ्क्रमणले कति क्षति पु-याउने हो, त्यसको यकिन विवरण तीनै तहका सरकारसँग छैन। सरकारले त्यसको प्रभावकारी नियन्त्रणका लागि ठोस कदम चाल्न नसक्दा लाखौँ किसान अझै जोखिममा छन्।
लम्पी स्किनको सङ्क्रमणको असर चौतर्फी देखिन थालेको छ। मुख्य खेती हुने सिजनमा गोरुलाई लम्पी स्किनले सताउँदा समयमै खेती हुन सकेको छैन। लाखौँ किसानसँग प्रत्यक्ष रोजगारी भएको पशु्पालन क्षेत्रबाट अप्रत्यक्ष रोजगारी गुमाएका छन् भने जीविकोपार्जनको मुख्य स्रोत रहेको पशुपालनबाट विस्थापनको खतराको सङ्केत देखापरेको छ।
महामारीका रूपमा फैलिए पनि कानुनी प्रावधान नहुँदा किसानले क्षतिपूर्ति पाएका छैनन्। नेपालमा पशुपन्छीलाई बर्ड फ्लुबाहेकका अन्य सङ्क्रामक रोगको क्षतिपूर्ति पाउने कानुन नहुँदा लम्पी स्किनको क्षतिपूर्ति दिन समस्या भएको छ। विभागले नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) लाई क्षतिको विवरणको तथ्याङ्क सङ्कलनका लागि अनुरोध गरेको छ रनार्कले विवरण सङ्कलन गरिरहेको छ।
सहरको पैसा गाउँसम्म जाने माध्यम नै कच्चा दुध भएको तर दुधालु पशुको क्षतिले गरिबीको सङ्ख्या वृद्धि हुने तीन दशकदेखि दुग्ध उत्पादक व्यवसायमा आबद्ध नारायण बडालले बताउनुभयो। नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रह्लाद दाहालले यसको असर फुटपाथमा चिया बेच्नेदेखि ठुला दुध उद्योगसम्म पर्ने बताउनुभयो। उहाँले यसले किसानसँगै दुग्ध उद्योगमा आधारित लाखौँलाई असर पर्ने भएकाले सरकारले यसको नियन्त्रणमा ठोस कदम चाल्न आवश्यक रहेको उल्लेख गर्नुभयो। सुरुमा रोग नियन्त्रण, त्यसपछि क्षतिपूर्तिका लागि सरकारले ढिला गर्न नहुने उहाँले बताउनुभयो।
किसान आयोगले दैनिक रूपमा करोडौँको क्षति किसानले बेहोरिसकेकाले तत्काल रोग नियन्त्रणका लागि सरकारी निकायले ठोस कदम चाल्न आवश्यक रहेको सुझाव दिएको छ। आयोगका प्रवक्ता जीवन्ती पौडेलले तत्कालै किसानलाई राहत, रोग नियन्त्रणमा प्याकेज ल्याउन सरकारलाई सिफारिस गरेको बताउनुभयो।
लम्पी स्किन सङ्क्रमणले दुध र मासु उत्पादनमा ह्रास आउने, पशुको प्रजननमा समस्या देखिने, तुहिने सम्भावना अधिक रहन्छ। निको भएको पशुलाई पूर्ववत् अवस्थामा ल्याउन थप पोषण आवश्यक पर्छ। एउटा मरेको दुधालु पशुकै अवस्थामा भर्खरै जन्मेको पशुलाई पु-याउन कम्तीमा ७० महिना लाग्छ।
पशु प्राविधिक उद्धवप्रसाद सापकोटाले रोग लागेर निको भइहाले पनि पशुले साँढे खोज्न लामो समय लाग्ने बताउनुभयो। लामो बेतान्तर भई गाईभैँसीको दुध उत्पादनमा ४० देखि ५० प्रतिशतसम्म कमी हुनेछ। यसले समेत क्षतिको आकडालाई बढाउने उहाँले उल्लेख गर्नुभयो।
केन्द्रीय दुग्ध उत्पादक सहकारी सङ्घका वरिष्ठ उपाध्यक्ष कृष्णप्रसाद सापकोटाले सङ्क्रमणको कारणले किसानले अर्बौंको क्षति बेहोरिसकेकाले तत्कालै क्षतिपूर्तिको व्यवस्थापन मिलाउन अनुरोध गर्नुभयो। कुल गार्हस्थ उत्पादनमा कृषि क्षेत्रको २३.९ प्रतिशत योगदान रहेको छ।
यो पशुपन्छीको समेत योगदान हो। कृषि विकास रणनीतिमा १५ औँ योजनाको अन्तिम वर्ष २०८०/८१ मा दोस्रो महत्वपूर्ण मूल्य शृङ्खलामा दुधलाई राखिएको छ भने त्यसपछि मासुलाई राखिएको छ तर लम्कीका कारण त्यो सम्भावना न्यून भएको छ।