कपिलवस्तु - कपिलवस्तुमा सर्पकाे डसाइबाट दुई दिनमा चार जनाको ज्यान गएकाे छ । गएराति बुद्धभूमि नगरपालिका–१ मा विषालु सर्पले डस्दा दुई दाजुभाइकाे ज्यान गएकाे हाे ।
नौ वर्षीय प्रदीप भुसाल र १२ वर्षीय दीपक भुसालकाे ज्यान गएकाे गोरुसिङ्गे इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक नरेशबहादुर शाहीले जानकारी दिनुभयो । सोमवार राति घरमा सुतिरहेको बेला उनीहरुलाई सर्पले डसेकाे हाे ।
बिहान दुई दाजुभाइ बेहोस अवस्थामा भेटिएपछि स्थानीय अस्पतालमा पुर्याइएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि बुटवलमा रहेकाे लुम्बिनी प्रादेशिक अस्पताल लैजाँदै गर्दा एक जनाको बाटोमा र अर्काको उपचारका क्रममा ज्यान गएकाे हाे ।
यसैगरी सोमवार हिजाे बिहान बुद्धभूमि नगरपालिका–१० की १६ वर्षीया ममता रैदासको पनि सर्पको डसाइबाट ज्यान गएकाे छ । सर्पले डसेलगत्तै उनलाई गोरुसिङ्गेमा रहेकाे कपिलवस्तु सर्पदंश उपचार केन्द्र लगिएकामा त्यहाँ उपचार सम्भव नभएपछि जिल्ला अस्पताल तौलिहवा पठाइएको थियो । तर चिकित्सकले उनलाई मृत घाेषित गरेका हुन् ।
सोमवार नै महाराजगञ्ज नगरपालिकाकी ३० वर्षीया अनिता यादवको पनि सर्पको डसाइबाट ज्यान गएकाे छ । हिजाे दिउँसो घर नजिकै पराल निकाल्ने क्रममा उहाँलाई गोमन सर्पले डसेको थियो ।
लगत्तै गोरुसिङ्गे उपचार केन्द्रमा उपचारका लागि लगिएकामा त्यहाँ उपचार नभएपछि बुटवल लैजाँदै गर्दा उहाँको पनि बाटोमै ज्यान गएकाे प्रहरी निरीक्षक शाहीले जानकारी दिनुभयो । जिल्लामा बर्खा लागेसँगै सर्पको बिगबिगी बढिरहेकाे छ ।