Chauthoanga - Nepali News Media
प्रतिनिधि सभा बैठकमा एमाले र रास्वपाको अवरोध
फाईल फोटो

काठमाण्डाै - प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधि सभा बैठकमा अवरोध गरेका छन् ।

एमाले र रास्वपाका सांसदले जिल्ला निर्वाचन कार्यालयलाई जिल्ला प्रशासन कार्यालय मातहत राख्ने तयारी गरेको भन्दै प्रतिनिधि सभा बैठक सुरू हुने बित्तिकै उठेर विरोध गरेका हुन् ।

रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले निर्वाचन कार्यालयलाई खारेज गरी प्रशासन कार्यालयमा गाभ्ने निर्णय लोकतन्त्र विरोधी भएको भन्दै सरकारलाई त्रुटि सच्याउन आग्रह गर्नुभयो । एमाले सांसद सूर्य थापाले सरकारले यो विषयलाई सच्याउनुपर्ने भन्दै विरोध जनाउनु भएको छ ।

सभामुख देवराज घिमिरेले बजेटको मन्त्रालयकाे शीर्षकमाथि उठेका प्रश्नहरुको जवाफ दिने कार्यसूची रहेको र त्यसक्रममा जवाफ आउने बताए पनि उनीहरुले अवरोधलाई निरन्तरता दिएका छन् । आजको बैठकमा अर्थमन्त्री प्रकाशशरण महतले बोल्ने कार्यसूची छ । तर अवरोध भएकाले प्रतिनिधि सभाको बैठक कार्यसूचीमा प्रवेश गर्न सकेको छैन ।

प्रकाशित मिति: मंगलबार, असार १२, २०८०  १२:०२
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको