दाङ - दाङको बंगलाचुली गाउँपालिकाले शिक्षा र स्वास्थ्यलाई उच्च प्राथमितामा राखेर आर्थिक वर्ष २०८०/०८१ को बजेट विनियोज गरेको छ । गाउँपालिकाले पुँजीगत र चालु तर्फ गरी जम्मा ५७ करोड २५ खाल ८४ हजार बजेट विनियोजन गरेको छ । बंगलाचुली गाउँपालिका अध्यक्ष तुल्सीराम पुन मगर शुवासको अध्यक्षतामा वसेको गाउँ सभामा उपाध्यक्ष भक्त बहादुर जिसीले बजेट आर्थिक वर्ष २०८०/०८१ को बजेट प्रस्तुत गर्नु भएको थियो ।जस अनुसार गाउँपालिकाले पुँजिगत तर्फ २४ करोड ६५ लाख ६० हजार अर्थात (४३ प्रतिशत) ,चालु तर्फ शिक्षा, स्वास्थ्यको तलब भत्ता, कार्यक्रम, सामाजिक सुरक्षा, कार्य सञ्चालन तथा व्यवस्थापन सहित ३२ करोड ६० लाख २४ हजार अर्थात (५७ प्रतिशत) बजेट विनियोजन गरेको छ ।
गाउँपालिकाले शिक्षा क्षेत्रको भौतिक तथा संस्थागत विकासका लागि १९ करोड ४० लाख अर्थात कुल बजेटको (३३ प्रतिशत) र स्वास्थ्य क्षेत्रमा ६ करोड ३८ लाख अर्थात कुल बजेटको (१३ प्रतिशत) गरि जम्मा २५ करोड ७८ लाखको (४६ प्रतिशत) बजेट शिक्षा र स्वास्थ्यमा विनियोजन गरेको छ । गाउँपालिकाले तलब भत्ता तथा कार्यालय सञ्चालन तथा व्यवस्थापन लगायतका प्रशासनिक खर्च तर्फ ७ करोड ६५ लाख अर्थात कुलबजेटको ( १३ प्रतिशत) बजेट प्रस्ताव गरेको छ ।
त्यसैगरी गाउँपालिकाले एक वडा एक कृषि पशु पक्षी विकास प्राविधिक कार्यक्रमका लागि कृषि तथा पशुपन्छि विकास र उद्योग वाणिज्य पर्यटन तर्फ ७१ लाख, एक स्थानीयतह, एक उत्पादन, अर्गानिक कृषि उत्पादन, श्रममा आधारित युवा रोजगारि सृजनाका लागि युवा रोजगारिका लागि रुपान्तरण पहल परियोजना, प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ६७ लाख बजेट विनियोजन गरेको छ ।
गाउँपालिकाले समग्र आर्थिक विकास तर्फ जम्मा १ करोड ९८ लाख, संस्थागत क्षमता विकास तथा सञ्चालनका लागि जम्मा १ करोड ९७ लाख, "खरको छानो मुक्त अभियान" लाई निरन्तरता दिदै सुरक्षित नागरिक आवास कार्यक्रम क्रमागत आयोजना अन्तर्गत सूचिकृत भएका जम्मा १३ सय २ घरधुरीका लागि ८४ लाख बजेट विनियोजन गरेको छ । लैङ्गिक समानता तथा सामाजिक समावेशिकरणका लागि ५३ लाख, शहीद परिवार, घाइते, अपाङ्ग सहयोग कार्यक्रम तथा शहीद, घाइते तथा बेपत्ता परिवार सम्मानका लागि ५ लाख,वालमैत्री स्थानीय शासन लागु गर्न ६ लाख, बजेट विनियोजन गरेको छ । त्यसैगरी गाउँपालिकाले खेलकुद तथा युवा स्वरोजगार कार्यक्रम संचालन गर्नका लागि ६ लाख, कृषि तथा पशुपन्छि विकास र उद्योग वाणिज्य पर्यटन तर्फ ७१ लाख बजेट विनियोजन गरेको छ ।
त्यसैगरी प्रस्तुत बजेट मध्ये नेपाल सरकारको अनुदानबाट ४१ करोड २८ लाख, संघीय राजश्व बाँडफाँडबाट १० करोड ११ लाख, प्रदेश सरकारको अनुदानबाट ३ करोड २१ लाख, प्रदेश सरकारको राजश्व बाँडफाँडबाट ४९ लाख ६१ हजार र आन्तरिक राजश्वबाट १ करोड ५० लाख र गत वर्षको मौज्दातबाट ६५ लाख बजेट अनुमान गरिएको छ ।गाउँसभामा आर्थिक वर्ष २०८०/०८१ को विनियोजन विधेयक सभाका सदस्य मैते पुन मगरले र आर्थिक वर्ष २०७९/०८० को न्यायिक समिति प्रतिवेदन सभाका सदस्य रमा कुमारी पुनमगले प्रस्तुत गर्नुभएको थियो । गाउँसभामा सभाका सम्पूर्ण सदस्यहरुको सहभागिता रहेको थियो । भने पालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृत, शाखा प्रमुख, वडा सचिव लगाएत सम्पूर्ण कर्मचारीहरुको सहभागिता रहेको थियो ।
हेर्नुहोस् पूर्ण पाठ