Chauthoanga - Nepali News Media
बंगालचुली गाउँपालिकाको नीति तथा कार्यक्रम ‘एक घर एक रोजगारी,अध्याँरो मुक्त बंगलाचुली’

कमिरेचौर- दाङको बंगलाचुली गाउँपालिकाले आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम पारीत गरेको छ । गाउँपालिको दोस्रो गाउँसभा तेस्रो अधिवेशनले गाउँपालिकाको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सर्वसम्मत पारित गरेको हो । पालिकाले शिक्षा, कृषि र रोजगारीलाई प्राथमिकतामा राखेर नीति पारीत गरेको छ । जस अनुसार गाउँपालिकाले ‘ एक घर एक रोजगार’ कार्यक्रमलाई प्राथमिकता दिएको छ । यस क्षेत्रका वेरोजगार युवा शक्तिलाई विभिन्न कार्यक्रमका माध्यमबाट रोजगार सृजना गारी पालिकाका सम्पूर्ण नागरिकलाई रोजगार संग जोड्ने निति लिएको हो । 
भौगोलिक रुपमा दुर्गम मानिने गाउँपालिकाले आफ्नो नीति तथा कार्यक्रम पारित गर्दै आगामी २ वर्षभित्र प्रत्येक घरमा बिजुली बत्तिको पुर्याउने घोषणा गर्दै गाउँपालिकाको अन्धकारलाई हटाउने संकल्प लिएको छ । पहाडी भू–बनोटका कारण अझै पनि धेरै वस्ती क्षेत्र बिजुली सेवाको पहुँच बाहिर रहेकाले अबको दुईवर्षभित्रको विद्युतियकरणको बृहत्तर विकास गरी उज्यालो गाउँपालिका घोषणा गरी अन्धकार हटाउने नीति कार्यक्रम प्राथामिक्तामा राखेको छ । 
गाउँपालिकाले आफ्नो नीति कार्यक्रममा मार्फत बिजुली बत्तिको अन्धकारलाई मात्रै होईन, शिक्षाको अन्धकारलाई समेत हटाउने आफ्नो नीति कार्यक्रमको प्रमुख लक्ष्य रहेको उल्लेख गरेको छ । गाउँपालिका अध्यक्ष तुलसीराम पुनले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै ‘हामी सबैको ईच्छाः विद्यार्थीलाई गुणस्तरीय शिक्षा’ भन्ने नाराका साथ विद्यालय जाने उमेर समूहका सवै वालवालिकाहरुलाई विद्यालयको पहुँच सुनिश्चित गर्दै सामुदायिक शिक्षाको अवस्था , गुणस्तर फेर्दै गाउँपालिकालाई शिक्षाको ज्योती छर्ने घोषणा गरेका छन् । विकासको सुचक मध्येकै महत्वपूर्ण सुचक शिक्षा समेत रहेकाले शैक्षिक विकाससँगै गाउँपालिकालाई समृद्ध बनाउने योजना नीति कार्यक्रममा समावेश गरेको छ । 
त्यसैगरी गाउँपालिकाले कृषिलाई जोड दिँदै " बंगलाचुली समृद्धिको अभियान:आत्मनिर्भर कृषि र किसान" भन्ने नारामा टेकेर पालिकाको वडाहरुमा वातावरण र भौगोलिक अनुकुलताको आधारमा ‘एक वडा, एक उत्पादन’ कार्यक्रमलाई अगाडि बढाउने भएको छ । गाउँपालिकाले टिमुरखेती , किबी खेती, कागती खेती, सुन्तला खेती तथा कफी खेतीको पकेट क्षेत्रको रुपमा गाउँपालिकाकै पहलमा अगाडि बढाइने निति लिएको छ । गाउँपालिकाले उपलब्ध साधन स्रोतको सीमाभित्र रही कृषकहरु लाई उत्पादनमा आधारित अनुदान सहयोग समेत उपलब्ध गराउने भएको छ।

त्यसैगरी पर्याप्त र स्वच्छ पानी , गाउँपालिकाको लगानी " भन्ने नारा तय गरी पानीमा लगानी वृद्धि गरि एक घर एक धाराको नितिलाई पुरा गर्ने योजना बनाएको छ । बंगलाचुली गाउँपालिकाले स्थानीय कला संस्कृति र सम्पदाको संरक्षणका लागि "स्थानीय कला संस्कृति मौलिक पहिचान, गाउँपालिकाको अभियान " भन्ने नारा तय गर्दै विभिन्न नितिहरु बनाएको छ । जसबाट स्थानिय कला संस्कृतिको संरक्षण एवं जगेर्ना गर्दै स्थानीय मौलिक तथा लोपोन्मुख झाँकी, गाथा, वाद्यवादन, नृत्यलाई नयाँ पुस्तामा हस्तान्तरण गर्न प्रशिक्षणका साथै विभिन्न विधाका कार्यशाला र प्रतियोगिताहरु सञ्चालन गर्ने भएको छ ।  

गाउँपालिकाले लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण तथा न्याय सम्पादन, संस्थागत विकास तथा शुसासन, उद्योग  ,वाणिज्य,पर्यटन , जल ,वन ,वातावरण, स्वास्थ्य  तथा सरसफाई लगाएतका क्षेत्रलाई समेट्नेगरी नीति बनाएको छ ।नीति तथा कार्यक्रम अनुसार योजनाहरु सम्पन्न गर्दै समृद्ध गाउँपालिकाको रुपमा स्थापित गर्ने लक्ष्य राखिएको छ । बंगलाचुली गाउँपालिकाले एक वर्षको अवधिमा विभिन्न क्षेत्रमा विभिन्न कामहरु गरीएको कामको विवरण समेत नीति तथा कार्यक्रममा समावेश गरेको छ ।

IMG_02401687436597.JPG

गाउँपालिकाले एक वर्षको अवधिमा  आर्थिक विकास तर्फ कृषि तर्फ अगुवा कृषकका लागि  विभिन्न स्थलगत तालिम, कृषकका लागि विउविजन वितरण कार्यक्रम, वेमौसमी तरकारीको लागि किट वितरण  फलफुल खेती पकेट  व्यवस्थापन जस्ता  कार्यक्रमहरु गरीएको,गाउँपालिका पशुसेवा शाखाका अतिरिक्त वडा नं १, २ र ८ मा पशुसेवा इकाइ स्थापना गरी वडा स्तरबाटै पशु सेवा प्रदान गरिदै आएको,समय समयमा पशु पक्षिमा आउने महामारी नियन्त्रणमा जोड दिइएको छ।गरिबी निवारण तथा लघुउद्यम विकास कार्यक्रममा विभिन्न किसिमका सिप विकास तालिमहरु(कटाइसिलाइ, साबुन बनाउने, चप्पल बनाउने) उद्यमीहरुका लागि स्तरोन्नती र प्रविधि हस्तान्तरणका कार्यक्रम गरीएको र प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत ८५ जनालाई १०० दिनको रोजगारी प्रदान गरीएको नीति तथा कार्यक्रममा उल्लेख गरेको छ । 
त्यसैगरी सामाजिक विकास तर्फ आधारभुत स्वास्थ्य सेवा सर्वसुलभ र व्यवस्थित बनाउन सेवा करार तर्फका रिक्त भएका दरबन्दीमा कर्मचारी पदपुर्ती गरि सेवा प्रवाह व्यवस्थित गरिएको ,आधारभुत स्वास्थ्य केन्द्रमा र स्वास्थ्य चौकीमा आधुनिक सूचना प्रविधिमैत्री प्रतिवेदन प्रणाली लागु गर्न इन्टरनेट सेवा सुचारु गर्नका साथै अतिआवश्यक इलोक्ट्रोनिकल सामानहरु उपलब्ध गराइएको,नियमित खोप तथा अन्य मानव स्वास्थ्य सुचकाङ्कमा वृद्धि भएको , DHIS-२, ELMIS कार्यक्रमहरु सबै स्वास्थ्य संस्थामा विस्तार भएको,सबै स्वास्थ्य संघसंस्थाहरुमा गुणस्तर सुधार प्रणालिका लागि स्वास्थ्य संस्था संचालन तथा व्यवस्थापन समितिलाई आफ्नो जिम्मेवारी तथा आधारभुत स्वास्थ्य केन्द्रको न्यूनतम सेवा मापदण्ड सम्बन्धि अभिमुखिकरण सम्पन्न गरेको ,सम्पूर्ण विद्यालयहरुमा शिशु र कक्षा एक देखि अंग्रेजी माध्यमलाई जोड दिने निर्णय गरी क्रमश माथिल्ला कक्षामा विस्तार गर्दै लैजाने काम अगाडी बढेको, सुकुम्वासी,भूमिहिन दलित तथा अव्यवस्थित वसोवासीहरुको लागि आयोग संग अनुमति लिई पुन: आवेदन फारम भर्ने काम सम्पन्न भएको र विवरणलाई अनलाईन फारम भर्नेकाम भएको र छिट्टैनै नापीको काम गरी निस्सा वितरणको काम अगाडी बढाईने तयारीमा रहेको, सहिद परिवार, जनयुद्ध तथा जनआन्दोलनका घाईते व्यक्ति र द्वन्दपिडित महिलाहरुलाई सम्मान गरीएको,सहकारी,व्यवसायिक तालिम र उत्पादनमुलक कार्यमा जोड दिईएको, महिलाहरूका लागि डल तथा कुसुन बनाउने तालिम ८८ जनालार्इ दलितहरुका लागि हाउस वायरिङ्ग १५ दिने तालिम १२ जनालाई तालिम  प्रदान गरीएको,अपाङ्गता भएका व्यक्तिहरुका लागि सहायक सामग्री वितरण गरिनुका साथै जेष्ठ नागरिकहरुलार्इ सम्मान तथा वस्तुगत सहायता प्रदान गरिएको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । 

त्यसैगरी भौतिक पूर्वाधार विकास तर्फ सुरक्षित नागरिक आवास कार्यक्रम अन्तर्गत थप ९०० घरधुरी संख्या सुचिकृत गराई पुरानो सूची संसोधन गरी बंगलाचुली गाउँपालिकामा रहेका खरको छानो भएका सम्पूर्ण घरहरुमा जस्ता पाताको छाना लगाईदिने कार्यको सुनिश्चितता गरिएको,गाउँपालिकावाट चालु आर्थिक वर्षमा मात्र ४५० घरधुरीमा गाउँपालिलिकावाट जस्तापाता वितरण गरी खरको छानो विस्थापन कार्य भएको ,सडक तर्फ १२ किमि नयाँ ट्रयाक ओपन, भएको ७ किमि स्तरोन्नती र ७० किमि मर्मत सुधार भएको ,खानेपानी तर्फ ५ वटा आयोजना निर्माण सम्पन्न भएका, सिँचार्इ तर्फ २ वटा ठुला आयोजना निर्माणाधिन र ६ वटा निर्माण सम्पन्न भएका, र २  वटा स्वास्थ्य संस्थाहरु मर्मत सुधार र ५ वटा सिँचार्इ कुलो निर्माण भएका, ३३.केभिएको विद्युत सव स्टेसन वडा नम्वर - ३ बचेनीमा स्थापना हुने कामलाई तिब्र गतिमा अगाडी बढाउन महत्वपूर्ण भूमिका निर्वाह गरिएको र २ वर्ष भित्रमा बंगलाचुलीका सम्पूर्ण स्थानमा विद्युत्तिकरण सम्पन्न गरिसक्ने योजना अगाडी बढेको लगाएतका विवरणहरु पनी नीति तथा कार्यक्रममा समावेश गरीएको छ । 

गाउँपालिकाले वातावरण विपद तथा प्रकोप व्यवस्थापन तर्फ विगतमा आएको अविरल वर्षा र वाढीपहिरोमा परि क्षतिग्रस्त घरहरुको विवरण गृहमन्त्रालयको अनलाईन डाटा ईन्ट्री कार्यक्रममा करिव ३०० घरधुरी ईन्ट्री भएको र उक्त विवरण अनुसार पुननिर्माणको काम अगाडी वढ्ने वातावरण निर्माण गरिएको, विभिन्न प्रकोप तथा विपदमा परेका र कमजोर तथा अशक्त व्यक्तिहरुमध्य ६२ जनालार्इ राहत प्रदान गरिएको, त्यसैगरी सार्वजनिक सेवा प्रवाह तथा संस्थागत विकास र सुशासन तर्फ सम्पूर्ण सेवा प्रवाहको काम गाउँ कार्यपालिकाको कार्यालयबाट नै शुरुवात गरिएको, न्यायिक समितिद्वारा समयमै सेवाप्रदान तथा अपाङ्गता परिचयपत्र वितरण र सहायता सामग्री वितरणका काम सम्पन्न भएको जस्ता प्रगति विवरण समेत नीति तथा कार्यक्रममा समावेश गरिएको छ । 

सभामा कार्यपालिकाको निर्णय अनुमोदन सम्बन्धी प्रस्ताव २०८० सभासद् शोभाराज विश्वकर्माले प्रस्तुत गर्नुभएको थियो, गाउँपालिका आर्थिक वर्ष २०७९/०८०को आर्थिक विशेयक २०८० सभासद् झविन्द्र बहादुर गाहा मगरले प्रस्तुत गर्नुभएको थियो र  बंगलाचुली गाउँपालिकामा कार्यरत कर्मचारीहरुको तलवी प्रतिवेदन सम्बन्धी प्रस्ताव २०८० समासद् लिला बहादुर घर्तीमगरले प्रस्तुत गर्नुभएको थियो ।

गाउँपालिकाको दोस्रो गाउँसभाको तेस्रो अधिवेसनको सुरुवात गाउँपालिका अध्यक्ष तुल्सीराम पुनमगरको अध्यक्षतामा भएको थियो । गाउँसभामा सम्पूर्ण सभाका सदस्यहरुको सहभागिता रहेको थियो । भने पालिकामा कार्यरत शाखा प्रमुख,वडा सचिव लगाएत सम्पूर्ण कर्मचारीहरुको सहभागिता रहेको थियो ।   

हेर्नु्होस् नीति तथा कार्यक्रमको पूर्ण पाठ 

 

प्रकाशित मिति: बिहीबार, असार ७, २०८०  १७:५१
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको