काठमाडौँ - भारतको ओडिशा राज्यमा भएको रेल दुर्घटनामा कम्तीमा २६१ जनाभन्दा बढीको मृत्यु भएको छ भने ६५० जनाभन्दा बढी घाइते भएको बिबिसीले जनाएको छ ।
घटनास्थलमा हाल उद्धार कार्य जारी छ । घाइतेहरूको गोपालपुर, खन्तपारा, बालासोर, भद्रक र सोरोको अस्पतालमा उपचार भइरहेको छ ।
ओडिशाको बालासोर जिल्लामा भएको सो दुर्घटनामा यात्रुवाहक एउटा रेल लिगबाट उछिट्टिएर अर्को रेलसँग ठोक्किन पुगेको थियो । सो दुर्घटना भारतको इतिहासमै सबभन्दा ठुलो रेल दुर्घटनाका रुपमा लिइएको छ । दुर्घटना लगतै दुई सयभन्दा बढी एम्बुलेन्स परिचालन गरि घाइतेहरूको उद्धार भइरहेको छ ।
यसअघिऽ ओडिशा राज्यका अग्नि नियन्त्रण सेवाका प्रमुख सुधांशु सारङ्गीले दुर्घटनामा २८८ जनाको मृत्यु भएको बताउनुभएको थियो । दुर्घटनामा घाइतेहरूको सङ्ख्या धेरै भएकाले मृतकहरूको सङ्ख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ ।
यो भारतमा भएको विगत चार दशकयताकै सबैभन्दा खराब रेल दुर्घटना हो। उक्त दुर्घटनाको कारण हालसम्म स्पष्ट हुन सकेको छैन।