दाङ - दाङ प्रहरीले विद्यार्थीमाथि बलात्कार गर्ने एक शिक्षकलाई पक्राउ गरेको जनाएको छ । दाङको शान्तिनगर ७ बस्ने बर्ष ३५ का शिक्षक खुमानन्द पौडेललाई भारतबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।
शिक्षक पौडेलले शान्तिनगर ७ धनौरामा रहेको शिबशक्ति मावि धनौरीको होस्टेलमा बसेर अध्ययन गरिरहेकी एक छात्रामाथि बलात्कार गरेको अभियोग लागेको छ । छात्रा सोही विद्यालयको कक्षा १० को एसइई का लागि होस्टेल बस्दै आएकी थिइन ।
बलात्कारको आरोप लागेपछि शिक्षक खुमानन्द पौडेल फार रहेका थिए । शिक्षक पौडेलले चैत्र २० गते विद्यालयमै अध्ययन गर्ने एक बालिकामाथि बलात्कार गरेको आरोप लागेको थियो । बलात्कारको आरोप लागेका शिक्षक पौडेल फरार भएर भारत पुगेको अवस्थामा दाङ प्रहरीले पक्राउ गरेको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी राजनकुमार गौतमले शिक्षक पौडेललाई भारतबाट पक्राउ गरेको जानकारी दिनुभएको छ । दाङ प्रहरीले काउन्टर पार्टका आधारमा शिक्षक पौडेललाई पक्राउ गरिएको प्रवक्ता डिएसपी गौतमले जानकारी दिनुभएको छ ।
बालिकामाथि बलात्कार गरेको भन्दै बालिकाका अभिभावकले चैत्र २१ गते ईलाका प्रहरी कार्यालय तुलसीपुरमा जाहेरी दिएका थिए । पक्राउ परेका शिक्षक पौडेलमाथि जिल्ला प्रहरी कार्यालय दाङले हिरासतमा राखेर अनुसन्धान जारी राखेको जनाएको छ । पौडेल शिबशक्ति मावि धनौरीमा प्राथमिक तहको स्थायी शिक्षकका रुपमा अध्यापन गराउँदै आएका थिए ।