Chauthoanga - Nepali News Media
देशको रक्षाको सङ्कल्पसहित म प्रधानमन्त्रीको जिम्मेवारीमा छुः प्रधानमन्त्री

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको एकता र परिवर्तनको रक्षाको सङ्कल्पसहित आफू प्रधानमन्त्रीको जिम्मेवारीमा रहेको बताउनुभएको छ । कान्तिपुर मिडियाद्वारा राजधानीमा आज (शनिबार) आयोजित हाफ म्याराथन दौडको एक कार्यक्रमबीच शुभारम्भ गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले उक्त कुरा बताउनुभएको  हो ।

प्रधानमन्त्रीले भन्नुभयो, ‘‘यो परिवर्तन मार्फत नै जनतालाई सेवा दिन सकिन्छ, सुशासन दिन सकिन्छ र विकास दिन सकिन्छ भन्ने सङ्कल्पसहित यो पटक म प्रधानमन्त्रीको जिम्मेवारीमा छु । हिजोका दिनमा भएका राष्ट्रिय एकता, सहमति र सहकार्यलाई जीवन्त तुल्याउन सकिन्छ भन्ने उद्देश्यले नै हामी दलहरु बीच छलफलमा छौं ।’’

उहाँले शीर्ष नेताहरु बीच हुने गरेका छलफल पनि तिनै विषयका साथै संसदका विभिन्न समितिहरु, सङ्क्रमणकालीन न्याय र  गणतन्त्र विरोधि प्रवृत्तिलाई निरुत्साहित गर्न मै केन्द्रित हुने गरेको स्पष्ट गर्नुभयो ।

प्रधानमन्त्रीले भारतसँग खुला सीमा, आर्थिक, राजनीतिक, सामाजिक, जनता–जनताबीचको सम्बन्धको दृष्टिकोणले सम्बन्ध विशिष्ट रहेको उल्लेख गर्नुहुँदै आगामि भ्रमण दुबै देशका लागि ऐतिहासिक बन्ने बताउनुभयो ।

प्रधानमन्त्री प्रचण्डले कार्यक्रममा सरकार खेलकुदको विकासलाई उच्च प्राथमिकतामा राखेर देशको प्रतिष्ठा र समाजमा अनुशासन कायम गर्न लागेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘अहिले सरकार सुशासन, विकास र समृद्धिको नयाँ सङ्कल्पसहित अगाडि बढेको छ । त्यसमा खेलकूलाई प्रोत्साहित गर्ने कुरा सरकारको उच्च प्राथमिकतामा रहेको म स्पष्ट गर्न चाहन्छु ।’’

प्रकाशित मिति: शनिबार, जेठ ६, २०८०  १२:१३
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको