Chauthoanga - Nepali News Media
लुम्बिनीका मुख्यमन्त्री लिला गिरी पदमुक्त

दाङ- लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरी पदमुक्त हुनुभएको छ । आज  सोमवार बिहान ११ बजे बसेकाे प्रदेश सभा बैठकमा एमालेका मुख्यमन्त्री गिरीले मागेको विश्वासको प्रस्तावको पक्षमा ३३ मतमात्र खस्यो ।

उहाको पद कायम रहन ८७ सदस्यीय प्रदेशसभामा ४४ सांसदको समर्थन आवश्यक थियो । तर उहाले एमालेका २९ र राप्रपाका ४ प्रदेशसभा सदस्यको मतमात्र पाउनुभयो ।

मुख्यमन्त्रीको विश्वासको मतको विपक्षमा ५३ मत खसेको छ । एकजना स्वतन्त्र सांसद, कांग्रेस, माओवादी लगायतका सत्ता गठबन्धनका दलले विपक्षमा मत दिएका छन् ।

माओवादी लगायतका दलले सरकारलाई दिएकाे समर्थन फिर्ता लिएपछि मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने बाध्यात्मक व्यवस्था अनुसार विश्वासको मत लिनुभएकाे हाे ।

सत्तारुढ दलहरुले चैत १२ गते सरकारलाई दिएको समर्थन फिर्ता लिँदै ५३ जना सांसदले लुम्बिनीमा नेपाली कांग्रेसका डिल्ली चौधरीलाई मुख्यमन्त्री बनाउन माग गर्दै प्रदेश प्रमुखलाई हस्ताक्षर बुझाएका थिए ।

एमालेले भने विश्वासको मत नपाएमा ठूलो दलको हिसाबले संविधानको धारा १६८ (३) बमोजिम सरकारको नेतृत्वमा दाबी गर्ने तयारी छ ।

प्रकाशित मिति: सोमबार, वैशाख ११, २०८०  १३:३१
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको